२४ पुष २०७४, सोमबार

ललितपुर । जेब्रा क्रसिङमा बाटो काट्ने क्रममा दुर्घटना बढेको भन्दै महानगरीय ट्राफिक प्रहरीले पैदलयात्रुलाई समूहमा बाटो काट्ने नयाँ अभियान शुरुवात गरेको छ ।

जेब्राक्रसिङमा बाटो काट्नका लागि ट्राफिक लाइटको अनिवार्य व्यवस्था हुनुपर्नेमा राजधानीलगायत उपत्यकाका जिल्लाहरुका कुनै पनि स्थानमा त्यस्तो व्यवस्था नभएको हुँदा ट्राफिक प्रहरीले सो व्यवस्था नभएसम्म समूहमा बाटो काट्ने अभियान लागू गर्न लागेको हो ।

ट्राफिक प्रहरीको पछिल्लो अभियानले जेब्रा क्रसिङबाट बाटो काट्ने जनचेतना सर्वसाधारणमा बढेको भएपनि जेब्रा क्रसिङबाट बाटो काट्दा मानिसहरु अझै सचेत नभएको पनि प्रहरीको ठम्याई छ ।

बाटो काट्दा मोबाइलमा कुरा गर्ने, गफ गर्दै बाटो काट्ने, जेब्रा क्रसिङ भन्दैमा कछुवाको गतिमा बाटो काट्ने लगायतका प्रवृतिले पनि कतिपय समयमा दुर्घटना निम्ताएको प्रहरीले बताए ।

दुर्घटना न्युनिकरण गर्नका लागि पैदलयात्रुहरुलाई समूहमा बाटो काट्न र सवारी चालकहरुलाई पनि जेब्रा क्रसिङमा पैदल यात्रुहरुलाई प्राथमिकता दिन जनचेतना फैलाउने अभियान समेत ट्राफिक प्रहरीले सञ्चालन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV