२३ पुष २०७४, आईतवार

काठमाडौं । उपत्याका सहित मुलुकभरको चिसो बढेको छ । न्यूनतम तापक्रम घटेका कारण चिसो बढेको हो । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । आइतबार विहानको न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियस रेकर्ड भएको छ ।

घटेर स्थिर रहेको तापक्रमकै कारण उपत्यकाको जनजीवनसमेत प्रभावित बनेको छ । उपत्यकाका फाँटमा बिहानीपख बाक्लो तुसारो पर्न थालेको छ । रातमा आकाश खुल्ला भएकै कारण केही दिन न्यूनतम तापक्रम स्थिर रहने मौसमविद्हरुको भनाई रहेको छ । अझै न्यूनतम तापक्रम घट्ने हुँदा चिसो बढ्ने सम्भावना छ । आज पनि पूर्वदेखि पश्चिमसम्मको तराई भेगमा बाक्लो हुस्सु लागेको छ । पहाड र हिमाली क्षेत्रमा भने मौसम सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सन् १९९८ जनवरी ११ मा सबैभन्दा कम न्यूनतम तापक्रम माइनस ३ दशमलव ५ डिग्रीसेल्सियस पुगेको थियो । अघिल्लो वर्ष सन् २०१७ को जनवरी १४ मा ० दशमलव ४ डिग्रिसेल्सियस तापक्रम रेकर्ड भएको थियो । विगतको अवस्थालाई हेर्दा यो पटक न्यूनतम तापक्रम अझै घट्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV