२३ पुष २०७४, आईतवार

एजेन्सी । बेलायतमा ७३ वर्षअघिको प्रेमपत्र भेटिएको छ । बेलायतको म्यासाचुसेट शहरमा पुनर्निर्माण गर्ने क्रममा एउटा घरको भित्ताभित्र ७३ वर्षअघि लेखिएको प्रेमपत्र फेला परेको हो। पर्खालभित्र हातले लेखेको एउटा पत्र पाइएको थियो। सो पत्र एकजना पुरुषले प्रेयसीका नाममा लेखेका हुन्। सो घर पटक–पटक खरिद–बिक्री भइसकेकाले पत्र लेख्ने व्यक्ति को हो भन्ने पत्ता लागेको छैन।

बेलायती पत्रिका ‘डेली मेल’का अनुसार पत्र लेख्ने व्यक्ति पत्ता लगाउने जमर्को म्यासाचुसेट प्रहरीले गरिरहेको छ। पत्र लेख्ने व्यक्तिले आफ्नो नाम वाल्टर बताएका छन्। पूरा नाम चिठीमा खुलाइएको छैन। सन् १९४४ को अप्रिल १९ मा दोस्रो विश्वयुद्ध समाप्त हुनुभन्दा केही महिनाअघि चिठी लेखिएको हो। ग्रिनफिल्डनिवासी बेट्टी मिलरलाई सम्बोधन गर्दै चिठी लेखिएको छ।

‘प्रिय बेट्टी, मैले सदैव तिमीलाई सम्झिने गरेको छु। अन्य युवतीभन्दा बढ्ता तिमीलाई नै सम्झिने गरेको छु। तिमीप्रतिको मेरो त्यो भावना अझै कायम छ,’ चिठीमा लेखिएको छ। चिठी लेख्ने व्यक्ति को हो र चिठीलाई किन र कसले पर्खालभित्र राख्यो भन्नेबारे प्रहरीले समेत चासो देखाएको छ। म्यासाचुसेट प्रहरीले आफ्नो फेसबुक पेजमा सो पत्र राखेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV