२३ पुष २०७४, आईतवार

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकीकरण प्रक्रिया लम्बिने भएको छ। पार्टी एकताका लागि पदीय भागवण्डामा कुरा मिल्न नसक्दा एकता संयोजक समितिको बैठक बस्न सकेको छैन। केही दिनदेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ बन्दा दुई पार्टीबीच शीर्ष तहमा छलफलसमेत हुन सकेको छैन। आजको नेपाल समाचारपत्रमा खबर छ ।

अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एक सातादेखि छलफलसमेत हुन सकेको छैन। नेकपा माओवादी केन्द्रले नयाँ सरकार निर्माण हुनुभन्दा अघि नै पार्टी एकीकरण गर्नुपर्ने निर्णय गरेको छ भने एमाले पार्टी एकीकरण र सरकार निर्माण एकसाथ अगाडि बढाउनुपर्ने पक्षमा देखिएको छ।

पद बाँडफाँडमा अध्यक्ष ओली र प्रचण्डबीच नै सहमति कायम हुन नसकेपछि एकता संयोजक समितिको बैठक अनिश्चित बन्दै आएको छ। ‘प्रचण्डले प्रधानमन्त्री र पार्टी अध्यक्ष रोजेर लिन ओलीलाई आग्रह गरिसक्नुभएको छ’, माओवादी केन्द्रका एक नेताले भने– ‘ओलीले जवाफ दिन ढिलाइ हुँदा एकता संयोजक समितिको बैठक बस्न नसकेको हो। ओली र प्रचण्डबीच नै पद बाँडफाँडमा अलमल हुँदा एकताको प्रक्रिया पनि लम्बिने भएको छ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV