२३ पुष २०७४, आईतवार

चिसो बढेसंगै तराईमा चलेको शीतलहरले जनजीवन कष्टकर बनाउँदै गर्दा चिसोकै कारण मृत्यु हुनेहरुको संख्या पनि बढेको छ । उच्च हिमाली क्षेत्र र तराईमा चिसोको प्रभाव अत्याधिक पर्दा जनजीवन कष्टकर बनेको छ । शीतलहरले अत्याधिक प्रभावमा परेको सप्तरीमा मात्र हालसम्म ७ जनाको मृत्यु भइसकेको छ भने थप चार दिन विद्यालय बन्द गरिएको छ ।

एक हप्तायता चिसोसँगै शीतलहर हुँदा सबैभन्दा बढी तराईको जनजीवन कष्टकर बनेको हो । शीतलहरकै कारण सप्परीमा सात जना, रौतहटमा मात्र तीन जनाको मृत्यु भइसकेको छ भने, मोरङमा दुई बालबालिका, कपिलवस्तु र धनुषामा एक जनाको मृत्यु भएको छ । तराई भू-भागमा चिसोका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएपनि गृहमन्त्रालले चिसोका कारण कसैको पनि मृत्यु नभएको जानकारी दिएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्माका अनुसार केही व्यक्तिको मृत्य भएको सुनिए पनि चिसोकै कारण मृत्यु भएको भनेर मन्त्रालयमा कुनै जानकारी आएको छैन । यता शुक्रवार विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा उपचार गराउन आएकी विराटनगर ८ की अढाइ महिनाकी वालिका लक्ष्मी साहको र सप्तरी कञ्चनपुरका ६ महिनाका वालक गणेश चौधरीको उपचारको क्रममा मृत्यु भएको अस्पतालका आकस्मिक सेवाका इञ्र्चाज रघुनन्दन अधिकारीले जानकारी दिनु भयो ।

यता धनुषा सहित मध्य तथा पूर्वी मधेशका जिल्लाहरुमा पछिल्लो एकसातादेखि पूर्णरुपमा घाम लागेको छैन् । घाम नलाग्दा अत्याधिक चिसोले कठ्याग्रिएर बुधबार राति धनुषाको सबैला नगरपालिकामा एकजना अधबैंसेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बिगत्मा नगरपालिकाले जनकपुरको चोकहरुमा तथा जिल्ला वन कार्यालयले जनकपुरसहित ग्रामीण बजारहरुमा चिसो छल्न काठको दाउरा राख्दै आएको थियो । तर यसपटक नगरपालिकाले कुनै चासो लिएको छैन् ।मौसम प्रतिकूल हुँदा शिक्षक एवं अगुवाहरुको सुझाब र आग्रहमा जिल्ला शिक्षा कार्यालय धनुषाले जाडो विदा एक साताअघि नै घोषणा गरेको छ ।

बाक्लो हुस्सु लाग्ने दिन भरी चिसो हावासंगै शीतलहर चल्ने भएकाले तराईका जिल्लाहरुमा जनजीवन कष्टकर बनेको छ । एक हप्ता देखि चिसो बढेसंगै वालवालिका, बृद्धबृद्धाहरु , दमका रोगी , निमोनिया, टाईफाइट, कोल्ड डाईरिया ,रुघा खोकी र ज्वरोका विरामीको संख्या दोब्बरले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV