२२ पुष २०७४, शनिबार

मुलुकमा उत्पादनसँग जोडेर व्यावसायिक शिक्षाको विकासमा सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिइएको छ ।

काठमाडौँ महानगरपालिका–१४ स्थित ग्रिन लनस् एकेडेमीको २४औँ अभिभावक दिवसका अवसरमा यहाँ आज आयोजित अन्तक्र्रियामा सहभागी वक्ताले मुलुकको आवश्यकतालाई सम्बोधन गर्ने शिक्षा प्रणालीको विकास गर्न सरकार तथा निजी क्षेत्रले समन्वय र सहकार्य गरी अगाडि बढ्नुपर्ने सुझाइएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित कृष्णगोपाल श्रेष्ठले अबको शिक्षा नीतिमा विद्यार्थीलाई सीपमूलक र व्यावसायिक ज्ञान उपलब्ध गराएर उनीहरुलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले मुलुकमा रोजगारी सिर्जना गर्न नसक्दा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका विद्यार्थीसमेत कामको खोजीमा विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

शिक्षासेवी मोहन बस्नेतले देशमा सिर्जनशील विद्यार्थी उत्पादन गर्नका लागि शिक्षा नीति र पाठ्यक्रमको विकासले मात्र नहुने दक्ष जनशक्ति तथा पूर्वाधारको विकास गर्न सरकारले लगानी बढाउनुपर्ने बताउँदै विद्यालयले अबका विद्यार्थीलाई नैतिक शिक्षाका साथै सामाजिक उत्तरदायित्वप्रति जिम्मेवार बनाउन खाँचो रहेको विचार व्यक्त गर्नुभयो ।

विद्यालयका प्राचार्य भीष्म पाण्डेले आवासीय शिक्षा सञ्चालन गर्दै आएको विद्यालयले विज्ञान तथा प्रविधिका क्षेत्रमा विद्यार्थीलाई जोड्ने तथा खेलकुद, सांस्कृतिक कार्यक्रममा सक्रिय बनाउने वातावरणको व्यवस्था मिलाएको जानकारी गराउनुभयो ।

नर्सरीदेखि १० कक्षासम्मको अध्ययन हुने उक्त विद्यालयमा करिब ७०० विद्यार्थी अध्ययनरत छन् । उक्त कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV