२२ पुष २०७४, शनिबार

काठमाडौं । राजधानीको शान्तिनगरमा नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरद गौचनको गोली हानी हत्या भयो । सार्पसुटरको गोली प्रहारबाट भएको गौचनको हत्या भारतीय आपराधिक समूहबाट भएको आकलन धेरैले गरेका थिए ।

लोप्साङ लामाले प्रहरी र केही सञ्चारमाध्यममा फोन गरी घटना मनोज पुनले गराएको जानकारी दिए ।  घटना अनुसन्धान गर्न बनेको अनुसन्धान कार्यदल र केन्द्रीय अनुसन्धान ब्युरोले गौचनको लगानीबारे तथ्य बाहिर ल्यायो । प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके कुमार घैंटेको साढे दुई करोड रुपैयाँ गौचनले आफ्नो डाँफे कन्ट्रक्सनमा लगानी गरेका थिए । त्योमध्ये एक करोड रुपैयाँ अर्का गुन्डा नाइके समीरमानसिंह बस्नेतले दाबी गरेको रहस्य खुलेको थियो ।

गौचनको हत्यामा बस्नेतसँगै पुनको पनि संलग्नता रहेको दाबी प्रहरीको छ । राज्यको सुरक्षा निकायलाई ठाडै चुनौती दिएर गराइएको यो घटनालाई कम आँक्न मिल्ने अवस्था थिएन । शुक्रबार बिहान बुटवलको देवदहमा अर्का फर्निचर व्यापारी वसन्त पौडेल बलुको गोली हानी हत्या भयो । हत्याको जिम्मेवारी पुनले लिएका छन् । पुनले एक वर्षअघि युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या गरेका थिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

कारण थियो, पुनले थुप्रै व्यवसायीबाट चन्दा असुली गरेका थिए । तिवारीले त्यसको विरोध गरे र पुनलाई कारबाही गरे । त्यसको रिसमा पुनले तिवारीको हत्या गरे । तिवारी र शुक्रबार बिहान हत्या गरिएका बलुको सम्बन्ध घनिष्ट थियो । तिवारी हत्या मनोज पुनले नै गराएको जानकार एक मात्रै व्यक्ति थिए बलु ।

सरकारले भैरहवालाई लगानी गर्न सुरक्षित रहेको घोषणा गत वर्ष मात्रै गरेको थियो । तर, भैरहवा पछिल्लो समय धेरै असुरक्षित बन्दै आएको पछिल्ला घटनाले देखाएको छ । काठमाडौंमा गौचनको हत्या भएपछि बस्नेत र पुनले रुपन्देही र काठमाडौंका थुप्रै व्यापारीलाई धम्क्याएर पैसा असुली गरेको अनुमान प्रहरीको छ ।

नेपालमा भएका केही ठूला हत्याकाण्डमा भारतीय आपराधिक गिरोहको संलग्नता देखिए पनि पछिल्ला समय नेपालभित्रैका गुन्डा समूह भारतमा लुकीछिपी बसेर हत्याकाण्ड मच्चाइरहँदा यसले सुरक्षा निकायमा थप चुनौती देखिएको छ ।

हत्या गरिसकेपछि मिडिया र प्रहरीलाई फोन गरी घटना आफूले गराएको जानकारी गराउने प्रवृत्ति धेरै डरलाग्दो रहेको र यसलाई राज्यले समयमै सम्बोधन गर्न नसके परिस्थिति झन् भयावह हुने देख्छन्  ।

रुपन्देही भारतीय सीमाबाट नजिक भएकाले पनि व्यक्ति हत्या गरेर भाग्न र लुक्न सजिलो भएका कारण जघन्य प्रकृतिका घटना दोहोरिएको हो । नेपालकै गुन्डासमूह भारतमा बसेर आपराधिक सञ्जाल फिँजाई नेपाली व्यवसायी हत्या गर्नुले राज्यको सुरक्षा चुनौतीमाथि प्रश्नचिह्न खडा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV