२१ पुष २०७४, शुक्रबार
  • रिया भण्डारी,

काठमाडौं । लागु औषधको लत नेपाली समाजमा बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनले लागुऔषधको लतलाई एक रोगका रुपमा व्याख्या गरेको छ । कानूनी रुपमा अपराध मानिएको लागु औषध सेवन नेपालमा ११ प्रतिशतले वर्षेनी बढ्दै गएको एक तथ्यांकले देखाएको छ ।

चिकित्सकहरुले समेत लागु औषध सेवनलाई रोगका रुपमा व्याख्या गर्न थालेका छन् । युवादेखि विद्यार्थीसम्ममा लागु औषध प्रयोगमा देखिएको प्रतिष्पर्धाले पछिल्ला तथ्यांकहरुले भयावहको रुप लिन थालेको देखाएको छ ।

गृह मन्त्रालयले सार्वजनिक गरेको एक तथ्यांकले नेपालमा दूव्र्यसनी वर्षेनी ११ प्रतिशतले बृद्धि भएको देखाएको छ ।

सम्भ्रान्त परिवारका युवादेखि दैनिक श्रमबाट गुजारा चलाउने परिवारसम्मलाई प्रभावित पार्दै लगेको छ । लागूपदार्थका अधिकांश स्कुले दुव्र्यसनीहरू प्रतिष्पर्धामा नै उत्रिने गरेका छन् ।

चुरोट गाँजामा मात्र उनीहरु सिमित छैनन्, ट्याब्लेट खाएर उनीहरुकै शव्दमा विन्दास हुनेको रवाफ ठूलो देखेपछि ख्यालख्यालमै एडिक्ट अर्थात दूव्र्यसनको कूलतमा फस्ने गरेको बताउँछन् ।

लागू औषध प्रयोग गर्नु कानुन अनुसार अपराध हो तर विश्व स्वास्थ्य संगठनले यसलाई रोग भनेर परिभाषित गरेको छ । मानसिक रोग बिशेषज्ञ पनि लागूऔषध प्रयोग एउटा रोग भएको भन्दै यसले युवापुस्तालाई भयाभहरुपमा गाँजेको बताउँछन् ।

बेरोजगारी, पारिवारिक तनाव, बढी उत्साह जस्ता भावनात्मक विचलन दूव्र्यसनका कारण मानिएका छन् । यद्धपि लागु औषधको प्रयोगले मानसिक चिन्ता घटाउनुको साटो बढाउने गर्दछ ।

नसालु पदार्थ सेवन गर्ने र जुटाउने भन्ने ध्याउन्नले चिन्ता थप्ने मात्र नभएर अपराधकर्म पनि बढाउने वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर सरोज ओझा बताउँनुहुन्छ ।

दूव्र्यसनीमा फसेकाहरुको व्यवहारमा एकाएक परिवर्तन हुँदै जान्छ । आर्थिक पक्ष विस्तारै कमजोर हुन थालेपछि अपराध गर्नसम्म उनीहरु पछि पर्दैनन् ।

दूव्यर्सनीमा फसेकाहरुमा चिडचिडाहट हुनु, शारीरिक रुपमा कमजोर हुनु, झोक्राउनु, टोलाउनु, आँखा लठ्ठ हुने लक्षणहरु देखापर्छन । मानसिक रोग बिशेषज्ञका अनुसार चुरोट र रक्सि सेवन गर्नु नै लागूऔषध को प्रवेशद्वार भएको मान्छन् ।

हिजोआज अभिभाबकले आफ्ना छोराछोरीलाई मादक पदार्थ सेवन गर्न दिनुलाई सामान्यरुपमा लिन थालेका छन् । यसलाई दूव्र्यसनीको ढोकाका रुपमा लिनुपर्ने मनोचिकित्सकहरुको सुझाव छ ।

गृह मन्त्रालयले गरेको सर्भेक्षण प्रतिवेदन अनुसार लागूऔषध प्रयोग गर्नेको संख्या ९१ हजार ५ सय ३४ छ । हरेक बर्ष संख्या बढ्दो छ । त्यसैले अबिभाबकले स्कुले जीवनदेखि नै आफ्ना बालबालिकालाइ बिशेष निगरानीमा राख्न आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV