२१ पुष २०७४, शुक्रबार
स्पृहा श्रेष्ठ

नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ती पनि छिराइदिन्छु भन्ने कुख्यात अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराज अहिले नेपालको जेलको हावा खाइरहेका छन् । नेपालमा दर्जनौ अपराध गरेर वेपत्ता भएको झण्डै ३ दशक पछि शोभराज नेपाल घुम्न आउने क्रममा नै पक्राउ परे । तर सबै अपराधीहरुमाथि यस्तो संयोग दोहोरिएको छैन् । त्यसैले पनि विदेशी नागरिकलाई अपराधका लागि नेपाल मलिलो भूमि बन्दै आएको तीतो यथार्थ छर्लङ्ग बनेको छ ।

नेपालमा अपराध नघटेका दिन नहोलान र ती अपराधहरुमा विदेशी पक्राउ नपरेको पनि दिन छैन जस्तै भएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिन पक्राउ पर्ने बढी विदेशी नै हुन्छन् । सुन्दर हिमाली मुलुकको रुपमा संसारभर ख्याति कमाएको नेपाल तुलनात्मकरुपमा सस्तो गन्तव्य पनि हो । त्यसमाथि पनि जुनसुकै कर्मका लागि सहज कानूनी व्यवस्था र त्यही अनुरुप कर्मचारीहरु पनि भईदिदा नेपाललाई धेरै विदेशीले अपराध कर्मका लागि पनि उर्वर भूमि ठान्छन् । बिभिन्न अपराधमा विदेशी नागरिकमाथि कडा कानूनी कारवाही भएपनि बिदेशी नागरिकहरु नेपालमा आएर आपराधिक कार्यका सहभागी हुने क्रम रोकिएको भने छैन। नेपालमा बसेर विभिन्न अपराधिक गतिबिधिमा संलग्न बिदेशी नागरिकको संख्या बढ्दो छ।

अवैध गतिविधिमा संलग्न धेरैजसो बिदेशी नागरिक पर्यटक भिसामा आउने गरेका छ भने केही बिजनेस भिसामा आउने गरेका छन् । प्रहरी तथ्यांक अनुसार ०७१/०७२ मा आपराधिक घटनामा संलग्न बिदेशी संख्या ५ सय ४ रहेको छ । जसमा पुरुष ४ सय ६९ र महिला ३५ रहेका छन्। ०७२/०७३ मा पक्राउ परेको बिदेशी संख्या ४ सय ६९ रहेको छ ।जसमा पुरुष ४ सय ४९ र महिला २० रहेका छन् । ०७३ /०७४ मा पक्राउ परेको बिदेशी संख्या ५ सय ५५ रहेको छ् । जसमा पुरुष ५ सय १९ र महिला ३६ रहेका छन् । प्रहरी प्रवक्ता मनोज न्यौपानेले बिदेशी नागरिकहरुलाई लागूऔषध, बैंकिंग कसूर , किर्ते नागरिकता , बिना प्रवेशाज्ञा , कर्तब्य ज्यान देखि खोटा चलन लगायतका अपराधमा पक्राउ गरि कारवाही अघि बढाइहेको जानकारी दिनुभयो ।

बिदेशी नागरिकको नेपालमा आएर लागू औषधको कारोबार गर्ने, एटिएमबाट अनाधिकृत रुपमा पैसा चोर्ने, कल बाईपास गर्ने, बैंकिंग कसूरमा संलग्न हुने जस्ता गैरकानूनी गतिविधिमा संलग्नता बढेसँगै विदेशी पर्यटकको निगरानीमा थप ध्यान दिन जरूरी देखिएको छ । बिदेशी नागरिकद्वारा गरिने यस्ता अपराधिक गतिबिधिलाई नियन्त्रण गर्न गृहमन्त्रालयद्वारा प्रस्तावित विदेशी नागरिक अनुगमन निर्देशिका समेत कार्यान्वयनमा आएको छ । पर्यटन र देशको सुरक्षा दुवैलाई आत्मसाथ गर्दै नेपाली भूमिमा गलत नियतले भित्रिएका बिदेशीका कर्तुतबारे सारा नेपाली सचेत बन्न जरूरी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV