२१ पुष २०७४, शुक्रबार

काठमाडौं । कडा खालको झाडापखालाले अस्वस्थ बनेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तंग्रिन थालेका छन्। तीन दिनअघि उनलाई झाडापखाला भएपछि पूर्वनिर्धारित सार्वजनिक कार्यक्रममा पनि अनुपस्थित रहँदै आएका थिए। आजको अन्नपूर्ण पोस्टमा खबर छ।

सोमबारदेखि अस्वस्थ रहेका ओलीलाई झाडापखालाले तीन दिनसम्म बेस्सरी च्यापेको थियो। ओलीका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले अन्नपूर्णसँग भनिन्, ‘उहाँ ९ओली० को पेट अलि गडबडी भएको हो। अहिले ठिक छ।’

झाडापखालाले दुई दिनसम्म सताएपछि उनले कार्यक्रमहरू पनि रद्द गर्दै आएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको सर्वदलीय बैठकमा समेत उनी अनुपस्थित थिए। भावी प्रधानमन्त्रीका रूपमा हेरिएका ओलीको अस्वस्थताका कारण शीर्ष तहको बैठक पनि स्थगित हुन थालेपछि उनको स्वास्थ्य अवस्थाबारे चासो बढेको थियो।

मिर्गौला र अन्य स्वास्थ्य समस्या देखापरेपछि यसअघि ओलीले नेपाल साथै भारत, थाइल्यान्ड र सिंगापुरमा समेत उपचार गराएका थिए। खानपानमा सजगता नअपनाउँदा ओली झाडापखाला लागेपछि सार्वजनिक कार्यक्रममा समेत नगई घरमै आराम गरिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV