२० पुष २०७४, बिहीबार
  • प्रकाश सिग्देल/शरद आचार्य,

चितवन । सबैका लागि शिक्षा, सरकारको नारा । तर, देशका धेरै बिद्यार्थीले अझै पनि आधारभूत शिक्षाका लागि ठूलै संर्घष गर्नुपर्छ । बिकट क्षेत्रका बिद्यार्थीले अध्ययनका लागि कठिनाई झेल्नुपर्ने समस्या अझै उस्तै छ ।

चितवनको विकट पहाडी भेगमा बसोबास गर्ने बिद्यार्थीहरुले पनि यस्तै समस्या झेलिरहेका छन् । चितवन, सुगम जिल्लामै पर्छ । तर, चितवनमा यस्तो भेग पनि छ, जुन भेगलाई दुर्गम पहाडी भेगभन्दा फरक पर्दैन ।

कालिका नगरपालिकाको ११ नम्बर वडा स्थित सिद्धि गाउँ साच्चिकै दुर्गम छ । दुर्गम भौगोलिक अवस्थितिको सिद्धि गाउँमा, सिद्धि–देउजर प्राथमिक बिद्यालय छ । जुन बिद्यालयमा ५७ जना बिद्यार्थी मात्र अध्ययन गर्छन् ।

त्यसमा पनि नियमित बिद्यालय आउने बिद्यार्थीको संख्या त गन्तिमै आउँदैन । कक्षा पाँचसम्मको बिद्यायलमा ५७ जना मात्र बिद्यार्थी हुनुमा विभिन्न कारण छन् । राम्रो पढाई नहुनु मुख्य समस्याको रुपमा रहेको छ ।

त्यति मात्र होइन, गाउँदेखि बिद्यालय निकै टाढा रहेकाले धेरै हिड्नुपर्ने समस्याका कारण पनि बिद्यार्थीको संख्या कम हुने गरेको शिक्षिका सुमित्रा चेपाङ बताउँछिन् ।

कक्षा पाँचसम्म अनेक अड्चन खेपेर अध्ययन गर्ने बिद्यार्थीलाई त्यसपछि पनि शुख छैन । आसपासमा कक्षा पाँचभन्दा माथिल्लो तह अध्ययन गराउने बिद्यालयनै छैन । त्यसैले सिद्धि गाउँका अधिकांश बिद्यार्थीले कक्षा पाँच पास गरेपछि बिद्यालय छोड्ने गरेका छन् ।

उनको नाम, बिशाल चेपाङ । अहिले कक्षा पाँचमा अध्ययन गर्छन् । बिशाललाई धेरै पढ्ने चाहना छ । तर, कक्षा पाँच पास गरेपछि आफ्नो बिद्यालय यात्रामा पूर्णबिराम लाग्ने उनले बुझिसेका छन् ।

त्यसैले, गाउँमै अध्ययन गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रह गर्छन् । चितवनको विकट सिद्धि गाउँमा ९० प्रतिशत लोपोन्मुख चेपाङ र ५ प्रतिशत तामाङ लगायत अन्य समुदाय बसोबास गर्छन । यस क्षेत्रमा खेतीयोग्य जनिम नहुँदा उत्पादन पनि कम हुन्छ ।

त्यसैले यस क्षेत्र निक्कै पछि परेको छ । समुदाय नै पछि परेपछि यहाँका बिद्यार्थी शिक्षाबाट पनि बञ्चित छन् । यस्ता विकट क्षेत्रमा शिक्षाको सरल पहुँच पु¥याउन सकेमात्र सरकारको नारा, सबैका लागि शिक्षा सर्थक बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV