२० पुष २०७४, बिहीबार

काठमाण्डौ,पुस २० । राजनीतिक सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवाले आज विहान ९ बजे सर्वदलीय बैठक बोलाउनुभएको छ । सर्वदलीय बैठकमा प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्न प्रयास हुने बताइएको छ ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँच दलबीच सहमति जुटे लगतै बस्ने मन्त्रिपरिषद् बैठकबाट राष्ट्रियसभाको निर्वाचन तथा प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने सरकारको तयारी रहेको छ । यसअघि निर्वाचन लगत्तै प्रदेश प्रमुख तोक्ने तयारीमा जुटेको सरकार वाम गठबन्धनका नेताहरूको विरोधपछि पछि हटेको थियो । कानुनी रूपमै प्रदेश प्रमुख तोक्नुपर्ने बाध्यता आएपछि सरकारले सहमति प्रयास थालेको हो । कानुन अनुसार प्रदेशको निर्वाचन परिणाम प्रदेश प्रमुख र प्रतिनिधिसभाको राष्ट्रपतिलाई बुझाउनुपर्छ ।

निर्वाचन आयोगले प्रदेश प्रमुख तोक्न ताकेता गर्दै आए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमति खोज्न मंगलबारबाटै राजनीतिक परामर्श गर्नुभएको हो । आज बिहान ९ बजे बालुवाटारमा बोलाइएको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेता सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV