१९ पुष २०७४, बुधबार

रामेछाप । रामेछापमा बाँदरले घर भित्र पकाएर राखेको भातको भाँडासमेत बोकेर हिँड्न थालेपछि स्थानिय समस्याामा परेका छन् । पटक–पटक बाँदरले किसानको अन्न बाली खाएर हैरान बनाएपछि किसानहरुले जिल्ला प्रशासन कार्यालय रामेछापमा बाँदर नियन्त्रणका लागि पहल गरिदिन लिखित रुपमा अनुरोधसमेत गरेका छन् ।

किसानहरुको अनुरोधलाई स्थानीय प्रशासनले अल्पकालीन र दिर्घकालीन दुई प्रकारबाट समस्या समाधानको निकास निकाल्ने भनेको लामो समय बितिसक्दा पनि अहिलेसम्म कुनै निकासको सम्बोधन नगरेपछि कृषकहरु झन् समस्यामा परेको मन्थली नगरपालिका वडा नम्बर–८, की शान्ति खत्रीले बताएका छन् ।

उनले भने ‘हाम्रो त खेत तथा बारीमा अन्न छरेदेखि घरमा नभित्राउन्जेलसम्म खेतमा नै रुँघेर बस्नु पर्छ । मान्छेसँगै कुकुर लिएर खेतको कान्लामा बस्दासमेत बाँदर आउन छोड्दैन । अन्नबाली रुँघ्न बालबालिकालाई राख्यो भने बाँदरले पिट्ने गरेको छ ।’ बाँदरले मन्थली नगरपालिकाको सालु, चिसापानी, पुरानागाउँ, सुनारपानी, कठजोरलगायतका ठाउँमा दुःख दिने गरेको छ । त्यस्तै फुलासी, गेलु, चनखु, तिल्पुङ्गका किसानहरुलाई हैरान पारेको छ ।

गाउँका किसानहरुले लगाएको अन्नबाली र घरमा भित्र्याइएको बालीसमेत खाएर बाँदरले किसानहरुलाई हैरान पारेपछि त्यसको नियन्त्रणको लागि किसानको माग अनुसार बजेट छुट्याइँदै आएको छ । बाँदर नियन्त्रणको लागि पैसा छुट्याएर रुघालु राख्दासमेत बाँदर नियन्त्रण गर्न नसकिएको मन्थली नगरपालिका वडा नम्बर–९, का वडा सचिव प्रेमकुमार श्रेष्ठले बताएका छन् ।

श्रेष्ठले भने ‘गाउँमा सधैँ बाँदरले किसानहरुले लगाएको अन्नबाली खाएर नष्ट पारेपछि किसानको मागको आधारमा गएका वर्षहरुमा पनि गाविसबाट दिएको रकमले उनीहरुले धराप बनाएर बाँदर आउने ठाउँमा राख्ने, तीर बनाएर बाँदरलाई हान्ने गर्दा पनि बाँदरले दुःख दिन छोडेको छैन ।’ किसानहरु अब बाँदर नियन्त्रणको लागि के गर्ने भन्ने चिन्तामा छन् ।

यसरी दैनिक रुपमा बाँदरले दुःख दिन थालेपछिे बारीमा लगाउने मकैसमेत कतिपय किसानहरुले लगाउन छाडेका छन् । वर्षाको समयमा पानी नपरेर पर्याप्त खेती गर्न नपाएका किसान भएको अन्नबाली पनि बाँदरले खाइदिएपछि झनै समस्यामा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV