१९ पुष २०७४, बुधबार
  • बसन्त लिम्बु,

ताप्लेजुङ । पूर्वको प्रसिद्ध धार्मिकस्थल पाथीभराको प्रचार प्रसार गर्ने उद्धेश्यले ताप्लेजुङमा आगामी फागुनमा पाथीभरा पर्यटन महोत्सव तथा म्याराथन प्रतियोगिता हुने भएको छ । शिवरात्रि तथा सेना दिवसको अवसर पारेर फागुन १ देखि ३ गते सम्म महोत्सवको आयोजना गर्न लागिएको हो ।

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समितिको आयोजनामा सदरमुकाम फुङलिङमा भएको सर्वपक्षीय बैठकले महोत्सवको तयारीका लागि पाँच सय एक मूल आयोजक समिति गठन गर्ने निर्णय पनि गरेकोसमितिका कार्यवाहक अध्यक्ष रणबहादुर कार्कीले जानकारी दिनुभयो । जसको संयोजक पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समिति रहने छ ।

त्यस्तै समितिको सहसंयोजकमा पाथीभरा क्षेत्र विकास समिति र नयाँ रणभीम गुल्म रहनेछन् । बैठकले महोत्सव र म्याराथन प्रतियोगिता अवधिभर गरिने कार्यक्रमको तालिकासमेत तयार गरेको समितिका सचिव लक्ष्मी काफ्लेले वताउनुभयो ।

माघ २७ गते पाथीभराधाम र पदमार्गको सरसफाइ गर्ने, २८ गते फुङलिङ नगरपालिका, किरातेश्वर र नागेश्वरसहित फुङलिङ बजारभित्रका धार्मिकस्थलको र २९ गते चण्डेश्वरधाम सफाइको कार्यक्रम राखिएको काफ्लेले जानकारी दिनुभयो ।

महोत्सवको पहिलो दिन फागुन १ गते तोक्मेडाँडाबाट विभिन्न जातजातिका सांस्कृतिक समूहको सहभागितामा सिद्धिडाँडामा रहेको चण्डेश्वरधामसम्म कलश यात्राको कार्यक्रम राखिएको छ ।

सोही दिन बिहान ११ बजेपछि मूल कार्यक्रमस्थल नयाँ रणभीम गुल्मको खेलमैदानमा कृषि मेला प्रदर्शनी, औद्योगिक, हस्तकला तथा शिल्पकला प्रर्दशनी, खाद्य परिकार महोत्सव, सांस्कृतिक कार्यक्रम र सुकेटारदेखि तोक्मेडाँडा ब्यारेकसम्म प्याराग्लाइडिङ कार्यक्रम हुने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक उदय भट्टराईले जानकारी दिनुभयो ।

फागुन ३ गते बिहान साढे सात बजे खुल्ला म्याराथन तथा ८ बजे महिला हाफ म्याराथन कार्यक्रम आयोजना गरिने भएको छ । खुल्ला म्याराथनको दूरी तोक्मेडाँडाबाट पाथीभरा मन्दिर पुगेर पुनः तोक्मेडाँडासम्म ४७ किलोमिटरको दरी तय गरिएको छ भने महिला हाफ म्याराथनतर्फ तोक्मेडाँडाबाट पाथीभरा प्रवेशद्वार भालुगौंडे पुगेर पुनः तोक्मेडाँडासम्मका लागि ३४ किलोमिटरको दूरी तय गरिएको छ ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको लोक तथा सांगीतिक प्रस्तुति रहने छ । २०६५ सालबाट चार वर्ष लगातार भएको महोत्सव २०६९ सालमा स्थगित भएको थियो । चार वर्षपछि पुनः महोत्सव आयोजना गरिन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV