१९ पुष २०७४, बुधबार

काठमाडौं । सरकारविरुद्ध विभिन्न माग गर्दै वाम गठबन्धन अन्तर्गतका युवा र विद्यार्थी संगठनले बुधबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनीमार्गबाट सुरु भएको जुलुस पुतलीसडक, बागबजार हुँदै रत्नपार्कको शान्तिबाटिमामा पुगेर कोणशभामा परिणत भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पदबाट राजीनामा दिनुपर्ने तथा निर्वाचन आयोगलाई समानुपातिक निर्वाचनको परिणाम सार्वजनिक गराहाल्नु पर्ने लगायतको माग गर्दै संगठनले प्रदर्शन गरेका हुन् ।

एमाले सम्बद्ध युवा संघ र अनेरास्ववियु तथा नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारी र वाईसीएलका नेता कार्यकर्ता प्रदर्शनमा सहभागी थिए । कोणसभालाई चारै संगठनका केन्द्रीय नेताले सम्बोधन गरेका थिए ।

इन्धनमा गरिएको मूल्यबृद्धि लगायत सरकारबिरोधी प्रदर्शनका क्रममा हिजो भएको झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तोलासहित दर्जनबढी नेता कार्यकर्ता घाइते भएका थिए ।

त्यसैको बिरोधमा आज देशभर प्रदर्शन गर्ने कार्यक्रम अनुसार सबैतिर बिरोध प्रदर्शन भइरहेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । उनिहरुले प्रधानमन्त्रीले राजीनामा र निर्वाचन आयोगले समानुपातिकको मतपरिणाम सार्वजनिक नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV