१८ पुष २०७४, मंगलवार

काठमाडौं । कालोबजारीमा पक्राउ परेका दुगडका सञ्चालकसहित ११ कर्मचारी छुटेका छन् । गत असोजको पहिलो साता कम्पनीले उत्पादन गर्दै आएको फ्रुटीको कच्चा पदार्थमा म्याद गुज्रेको भेटिएपछि पक्राउ परेका थिए ।

अहिले उनीहरुलाई उच्च अदालतले सामान्य धरौटीमा छुटाएको हो । यद्यपी उनीहरुको मुद्धा किनारा भने लागिसकेको छैन । कम्पनीका ११ जना सञ्चालक तथा कर्मचारी विरुद्ध २३ करोड रुपैयाँ बिगोसहित ठगी तथा कालोबजारी मुद्दा दायर गरेको थियो ।

प्रहरीले फ्याक्ट्री म्यानेजर प्रमोद मेहता, प्रबन्धक मदनबाबु पाण्डे, प्रोडक्ट मेनेजर ग्याप्रियल टिथापन र क्वालिटी म्यानेजर शिवराज पोखरेललाई पक्राउ गरेर मुद्दा दायर गरेको थियो । उनीहरुलाई सुरुमा जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलानको आदेश दिएको थियो। तर, उनीहरु गत महिना उच्च अदालतबाट छुटिसकेका छन्।

प्रहरीले कम्पनीका सञ्चालक मालचन दुगड, उनकी श्रीमती सुरेन्द्रा, छोरा विवेक र छोरी श्रद्धा विरुद्ध समेत मुद्दा दायर गरेको थियो । छापा हानेलगत्तै उनीहरु फरार भएका थिए । पछि अदालत र जिल्ला प्रशासनमा उपस्थित भएर उनीहरु धरौटीमा छुटेका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत ऋषि गाडिया, फ्याक्ट्री म्यानेजर रोहित भट्टराई र क्वालिटी अफिसर जगदीश पाण्डेलाई पनि मुद्दा दायर भएकोमा उनीहरु पनि अदालतमा उपस्थित भएर धरौटीमा छुटिसकेका छन्।

‘उनीहरु धरौटीमा छुटेलगत्तै कम्पनीमा फर्किएर म्याद गुज्रिएका फ्रुटीलाई प्रशासन र खाद्य विभागमा सेटिङ मिलाएर बिक्री थालेका हुन्’, कम्पनी स्रोतले भन्यो।

अदालतमा उपस्थित हुनुअघि मालचनले प्रभावशाली नेताहरुलाई भेटेका थिए। आफू धरौटीमा छुट्ने ढुक्क भएर मात्र उनी उपस्थित भएको स्रोत बताउँछ।

गत १२ भदौमा कम्पनीको सतंगुलस्थित कार्यालयमा ठूलो परिणाममा म्याद गुज्रिएका कच्चा पदार्थबाट बनाइएको फ्रुटी बरामद भएको थियो । मानव स्वास्थ्यमा गम्भीर असर पुग्नेगरी कम्पनीले कुहिएका आँपको गुदीबाट फ्रुटी बनाउँदै आएको थियो ।

एक वर्षअघि नै म्याद नाघेको आँपको गुदीमा चिनी, पानी र फ्लेभर मिसाएर जुस बनाउँदै आएको प्रहरी अनुसन्धानमा खुलेको थियो । प्रहरीले चार सय १८ ड्रम आँपको गुदीमा सिल गरेको थियो, जुन गत असोजमा नष्ट गरिएको थियो।

म्याद गुज्रिएकै पल्पबाट बनाइएको ५२ हजार ट्रे जुस पनि सिलबन्दी गरिएको थियो। सोही जुसमा अहिले नयाँ उत्पादन मिति राखेर बिक्री सुरु गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV