१८ पुष २०७४, मंगलवार

काठमाडौं । भारतको हरियाणा राज्यको पलवलमा मंगलबार ६ जनको अलग–अलग तरिकाले निर्मम हत्या भएको छ ।

प्रहरीले सबै शवलाई पोस्टमार्टमका लागि पठाएको छ । प्रहरीका अनुसार हत्यारालाई पक्राउ गरिएको छ । हत्या गर्ने व्यक्ति पूर्व सरकारी कर्मचारी भएको प्रहरीले जानकारी दिएको छ । जसको उमेर ४० देखि ४५ वर्षको बीचमा रहेको अनुमान छ ।

घटनामा आधारित एक सीसीटीभी फेला परेको छ, जसको हातमा एउटा रड देखिएको छ । दक्षिणी क्षेत्रका प्रहरी महानिर्देशक सीएस रावले बीबीसी हिन्दीसँग कुरा गर्दै भनेका छन्, ‘यस घटनामा गिरफ्तार भएका व्यक्तिको साइको एनालिसिस गरिनेछ । हत्याराले रातिको दुई बजेबाट ४ बजेसम्म नजिक–नजिक रहेका ६ जनालाई फलामको छडले हानेर हत्या गरेका छन् ।’

अहिलेसम्म हत्याको कारण र हत्यारा र मृतकको बीचको सम्बन्ध बाहिर आएको छैन । मारिनेमा एक महिला र पाँच पुरुष रहेका छन् । मारिनेमा ३ जना पुरुष सुरक्षा गार्डसमेत रहेका छन् ।

एनडीटीभीका अनुसार अभियुक्तको पहिचान नरेश नामको पूर्व सैनिकका रुपमा भएको छ । नरेश कुमार नाम गरेका ती अभियुक्त सेनामा क्याप्टेनका रुपमा कार्यरत थिए । अहिले उनी हरियाणा कृषि विभागमा काम गरेको बताइन्छ ।

उनले सबैभन्दा पहिले एक अस्पतालमा एक ३५ वर्षीया महिलाको हत्या गरेको बताइएको छ । त्यसपछि पलवलमा पाँच जना पुरुषको हत्या गरेका थिए ।

एनडीटीभीका अनुसार मृतक महिला आफ्नी बहिनीको डेलिभरीको अपरेसनका लागि अस्पताल आएकी थिइन् । उनको हत्या अस्पतालको आइसियूकै अगाडि भएको थियो । अभियुक्तले प्रहरीमाथि पनि हमला गर्ने प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV