१८ पुष २०७४, मंगलवार
  • मनोज साह÷दिपेश पौडेल,

रौतहट । रौतहटको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना वस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । वस्ती निर्माणमा हाँस्य कलाकार एवं दम्पत्तिद्वय सीताराम कट्टेल ‘धुर्मुस‘ र कुञ्जना घिमिरे ‘सुन्तली’ले जुटेका छन् ।

चन्द्रपुर नगरपालिका वडा नं. ८ का ४७ घर बाढीपीडित परिवारका लागि धुर्मुस–सुन्तली फाउन्डेशनले नमुना एकीकृत बस्ती बनाउन थालेको हो । पक्की घरमा बसिन्छ भनेर कल्पना समेत नगरेका यस बस्तीका वासिन्दाहरु यतिखेर बस्ती निर्माणसँगै निकै उत्साहित बनेका छन् ।

असोज २८ गतेबाट निर्माण प्रारम्भ गरिएको सन्तपुर नमुना बस्तीको ८० प्रतिशत निर्माण कार्य पूरा भएको कलाकार सीताराम कट्टेल ‘धुर्मुस‘ले बताउनुभयो । माघ २४ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्य लिएकाले बस्ती सोचेभन्दा चाँडो निर्माण भइरहेको धुुर्मुसको दाबी छ ।

५ करोड ९५ लाख लागत अनुमानित गरिएपनि २ करोड अपुग रहेको र सो रकम संकलन हुनेमा कलाकार कट्टेल विश्वस्त हुनुहुन्छ । काममा आफै सक्रिय भएकाले लागत अनुमानित गरिए भन्दा कम मै बस्ती बनाउने प्रयास गरिएको उहाँको भनाइ छ ।

तथापि बस्ती बनाउन रकम भने अपुग हुने उहाँको भनाई छ । कट्टेल दम्पतिद्वयले साउदी अरब र अष्ट्रेलियामा कार्यक्रम गरेर संकलित भएका रकम वस्ती निर्माणका लागि खर्च गरेपनि अझै अपुग हुने भएको हो ।

बस्तीमै पुगेर सहयोगीहरुले अहिले पनि सहयोग गरिरहेकाले निर्धारित मितिसम्म रकम पुग्नेमा कलकार धुमुर्स ढुक्क हुनुहुन्छ । केहि दिनयता चिसो बढेकाले काम गर्न असहज भए पनि बस्ती हस्तान्तरणको मिति नजिकिएकाले तिब्र गतिमा काम भइरहेको उहाँले बताउनुभयो । बस्ती बनाउन २ सय ६१ कामदार खटिएका छन् ।

हालसम्म ४७ वटै घर निर्माण सम्पन्न भइसकेको छ भने छानामा जस्तापाता हाल्न बाँकी छ । वस्तीमा एउटा बालउद्यान, एउटा भ्यू टावर, मन्दिर, सामुदायिक भवन, अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचना रहने जनाईएको छ ।

असोज २८ गते यता धुर्मुस र सुन्तली निरन्तर बाढी पीडितको सेवामा खटिएका छन् । धुर्मुस सुन्तली फाउन्डेशनको यो चौथो परियोजना हो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV