१८ पुष २०७४, मंगलवार

काठमाडौँ, १८ पुस । पञ्चायत पृष्ठभूमिका विभाजित पार्टीहरुलाई एकीकृत वा नाम परिवर्तन गरी नयाँ पार्टी स्थापना गर्न तीन वटै राप्रपाका नेताबीच विमर्श शुरु भएको छ ।

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसकेपछि दोस्रो तहका नेताले नेतृत्व र नीतिको विकल्प खोजेका हुन् ।

हाल कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा प्रकाशचन्द्र लोहनीको एकीकृत राप्रपा (राष्ट्रवादी) तीन दलमा विभाजित भएका कारण निर्वाचनमा हार व्यहोर्नुपरेको महसुस नेताहरुले गरेका छन् ।

पार्टीका नेताले विचार र अलग पहिचान भएको राष्ट्रवादी प्रजातान्त्रिक दल निर्माणका लागि विभिन्न विकल्पमा छलफल शुरु गरेको राप्रपाका उपाध्यक्ष दिलविकास राजभण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीन वटा राप्रपा तथा अन्य राष्ट्रवादी दललाई एकताबद्ध गरेर जानुको विकल्प छैन ।”

सो पार्टीको बुधबारदेखि काठमाडौँमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकले संगठनको सुदृढीकरणका साथै विभिन्न विषयमा छलफल गर्दै एकताका लागि आह्वान गर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV