१७ पुष २०७४, सोमबार

पाँचथर । पाँचथरमा इतिहासकार तथा खोज अनुसन्धानकर्ता इमानसिंह चेम्जोङको ११५ औं जन्मजयन्ती सोमबार मनाइएको छ ।

याक्थुङ मुन चइत चोक सयङ पाँचथरले कार्यक्रम आयोजना गरी चेमजोङको जन्मजयन्ती मनाएको हो । कार्यक्रममा जिल्लास्थित भाषा, साहित्य र इतिहासको क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुले इमानसिंहको तस्बिरमा माल्यार्पण गरी श्रद्धा व्यक्त गरेका थिए ।

किरात इतिहासकार तथा किरात सिरिजंगा लीपी र भाषा–साहित्यका प्रचारक इमानसिंहको जन्म बाबु मेघवरसिं र आमा दावापुहाङमाको छैठौं सन्तानको रुपमा १ जनवरी सन् १९७४ मा दार्जिलिङको कालेम्पूङमा भएको थियो । कालेम्पूङकै स्थानीय स्कुलबाट म्याट्रिकुलेशन र सेन्टजेभियर कलेज कोलकत्ताबाट आइए उतीर्ण गर्नुभएका इमानसिंहले दार्जिलिङ, सिक्किम र नेपालमा रहेर किरात इतिहासको खोज सँगै भाषा–साहित्यको प्रचार गर्नुभएको थियो । उहाँकै पहलमा विस २००८ मा लिम्बुवान सुधार संघ समेत गठन भएको थियो ।

सन् १९६६ देखि १९७५ सम्म त्रिभुवन विश्व विद्यालयमा किरात इतिहास विशेषज्ञको रुपमा जागिरे भएर काम गर्नुभएका इमानसिंका ‘तुम याक्थुङ निङ्वाभ’ साप्ला’, ‘किरात मुन्धुम ‘किरात मुन्धुम’, ‘किरात साहित्यको इतिहास’, ‘किरात दन्त्यकथा’, ‘हिस्ट्री एण्ड कल्चर अफ् किरात पिपुल’ र ‘किरातकालीन विजयपुरको संक्षिप्त इतिहास’ जस्ता महत्वपूर्ण कृतिहरु प्रकाशित छन् ।

किरात इतिहासको खोज, अनुसन्धान र भाषा, लीपी र साहित्यको प्रचार र विकासमा गरेको योगदानको सम्मान गर्दै नेपाल सरकारले विस २०५५ मा इमानसिंको तस्बिर हुलाक टिकटमा समेत प्रकाशित गरेको छ । त्यस्तै कक्षा–१०, को अनिवार्य नेपाली विषयको किताबमा समेत इमानसिंहको जीवनी प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV