१७ पुष २०७४, सोमबार

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गर्ने परम्परा रहेको छ ।

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गर्ने गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रत कथा सुन्ने सुनाउने परम्परा रहिआएको छ । एक महिनासम्म यो विधिबाट ब्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाइ ब्रतको कामना पुरा होस् भनी भगवतीलाई अर्घ दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई, मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने विधि रहेको छ ।

सय रोटी ब्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा ब्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । विधिपूर्वक ब्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको ब्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ ।

ब्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ । स्वस्थानीको अवसरमा एक महिनासम्म काठमाडौं उपत्यका साँखुस्थित शालीनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ । माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिइ पुण्य कमाइने धार्मिक विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV