१६ पुष २०७४, आईतवार

पोखरा । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अब नेपाली कांग्रेसलाई आफुले सुधार्ने तर्फ लाग्ने अभिब्याक्ति दिएका छन् । चुनावमा व्यहोरेको लज्जास्पद पराजयको प्रमुख कारण कमजोर संगठन भएको निश्कर्ष निकाल्दै अब पार्टी सुदृढीकरणमा आफु लाग्ने घोषणा गरेका हुन् ।

पोखरामा आइतबार भएको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै बीपीपुत्र कोइरालाले आफूलाई पार्टीको नेतृत्व र प्रधानमन्त्री बन्नु नपरेको बन्दै आफ्ना पिताको पथमा रहेर पार्टीको संगठन सुदृढीकरणमा लाग्ने बताएका थिए ।

उनले भने बिपीले बनाएको कांग्रेस संगठन धेरै तल झरिसकेछ,’ ‘हामीले हाम्रै संगठनलाई परिचालन गर्न सकेनौं ।’

आफ्नो पहिलो उद्देश्य पार्टी बनाउनु रहेको उनले सुनाए । ‘मलाई पार्टी अध्यक्ष बन्छु भन्ने छैन, प्रधानमन्त्री बन्छु भन्ने पनि छैन,’ कोइरालाले थपे, ‘मेरो मुख्य उद्देश्य भनेकै अब पार्टीलाई संगठित गर्ने हो, कांग्रेसलाई पुनः एक नम्बर पार्टी बनाउने हो ।’

जतिखेर पनि अरु पार्टीलाई वा गठबन्धनलाई मात्र दोष लगाउनुभन्दा सकारात्मक प्रतिपक्षको भूमिकामा कांग्रेस रहनुपर्ने उनले बताए ।

‘जे गर्दा पनि गाली नै गर्ने संस्कृतिबाट मुक्त बनौं, राम्रोलाई राम्रो भन्ने र नराम्रो गरे नराम्रै भन्ने गर्नुपर्छ हामीले, अब कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा हुन्छ, गाली गरेर मात्रै मुलुक सम्बृद्ध हुँदैन ।’

प्रचण्डलाई गठबन्धनबाट अलग्याउने प्रयास

महामन्त्री कोइरालाले गठबन्धनबाट माओवादी अलग्याउने प्रयास सुरु गरिएको पनि उदघोष गरेका छन् । उनले माओवादी अध्यक्ष प्रचण्डलाई अलग्याउन सकिन्छ भनेर केही दिनमा आफूले पहल सुरु गर्ने बताए ।

‘माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ज्यूलाई फेरि हामीले गठबन्धनबाट अलग्याउने हो कि भन्ने पनि कुरा उठेका छन्,’ कोइरालाले थपे, ‘साथीहरुले मलाई आग्रह गरेका छन्, दाहालज्युसँग कुरा गर्नुस् भनेर एकचोटी कुरा गर्नुपर्ला ।’

कुरा गर्दा पनि उनलाई गठबन्धनबाट अलग्याउने गरी कुरा गर्न पाएको खण्डमा कांग्रेसको रणनीति सफल हुन्छ भन्ने लागेको कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV