१६ पुष २०७४, आईतवार

रानु निरौला सांगीतिक बजारमा उदाउँदो नाम हो । विराटनगरमा जन्मिएकी रानुको चर्चा छोटो समयमै चुलिँदो छ । करिब १० वर्ष ब्यूटिपार्लर व्यवसायमा आबद्ध उनको औपचारिक सांगीतिक यात्रा भने दुई वर्ष अगाडिदेखि मात्रै आरम्भ भएको हो ।

‘ब्रेक फेल’ बोलको गीत गाएर सांगीतिक क्षेत्रमा प्रवेश गरेकी रानुको अहिलेसम्म ७ वटा म्यूजिक भिडियोसहितको गीत सार्वजनिक भइसकेको छ । अब्बल गायिकाका कारण छोटो समयमै चर्चा कमाउन सफल उनी गायिका मात्रै नभएर शब्द÷संगीत रचना पनि गर्छिन् ।

निकट भविष्यमै उनले आफ्नै शब्द र संगीत रहेको ‘आगो आगो’ बोलको ‘क्लब सङ्’ बजारमा ल्याउँदै छिन् । अहिले सो गीतको म्यूजिक भिडियो बनाउने काम भइरहेको छ । त्यस्तै पिरतीको फुल बोलको आधुनिक गीत पनि रेकर्डिङ भइसकेको र त्यसको म्यूजिक भिडियो बनिरहेको रानुले जानकारी दिइन् ।

सुरिलो स्वरकी धनी रानु आफ्नै कला र गलाका कारण चर्चित छिन् नै त्यससँगै उनीसँग अर्को रहस्यमय परिचय पनि छ । अर्थात् उनी चर्चित हास्य कलाकार तथा चलचित्र निर्माता/नायिका दीपाश्री निरौलाकी कान्छी बहिनी पनि हुन् ।

यो कुरा धेरैले अनुहार हेरेर अनुमान लगाउन सक्छन् किनकि रानुको दीपाश्रीसँग काटीकुटी अनुहार मिल्दछ । दिदीसँग अनुहार मिलेकै कारण धेरै ठाउँमा ‘दीपाश्री निरौला’ भनेर मानिसहरु झुक्किने गरेको अनुभव सुनाउँछिन् उनी ।

ब्यूटिसियन क्षेत्रमा एक दशकसम्म जमेर बसेकी रानु पैसाका लागि नभएर रहरले सांगीतिक क्षेत्रमा होमिएकी हुन् । ब्यूटि पार्लरमा टन्न पैसा कमाउन छोडेर किन यो क्षेत्रमा आउनुभयो भन्ने प्रश्नको उत्तर दिँदै उनले भनिन्, ‘रहर जाग्यो । मान्छेको लागि रहर सबैभन्दा ठूलो कुरो रहेछ । त्यो भन्दा ठूलो आत्मसन्तुष्टि के नै हुन्छ र । त्यसैले छोटो समयको यात्रामै सांगीतिक क्षेत्रबाट मलाई सन्तुष्टि मिलेको छ ।’

सानै उमेरदेखि गीत संगीतमा रमाउने उनी भजनकीर्तन गाउँनेदेखि गाउँमा हुने कार्यक्रमहरुमा नाँच्ने पनि गर्थिन् । औपचारिक शिक्षा संगीत क्षेत्र नभएपनि आफ्नो २/३ वटा गीत सार्वजनिक भइसकेपछि संगीतकार÷कम्पोजर नरहरी प्रेमीको श्रुति संगीतालयमा भोकल क्लास लिन सुरु गरेकी उनी अहिले पनि त्यही सिकिरहेकी छिन् ।

उनीले आफ्नो गीत सँगसँगै स्टेज कार्यक्रमहरुमा पनि पर्फमेन्स दिने गरेकी छिन् । अहिलेसम्म देशभित्र हुने विभिन्न कार्यक्रमहरुबाट दर्शकको मन जितेकी उनले विदेशको कार्यक्रममा समेत जाने तयारी गरिरहेको योजना सुनाइन् । गायिका रानु वग्गी एण्ड हर्ष राइडिङको ब्राण्ड एम्बेस्डरसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV