१६ पुष २०७४, आईतवार

काठमाडौं । काठमाडौं उपत्याकावासीले मेलम्ची खानेपानीको सपना देखेको पनि १८ बर्ष वितिसकेको छ । मेलम्चीको पानी आउँला र घाँटी भिजाउने गरि पानी पिउन पाउँला भन्नेहरुले आशा पनि मारेका छन् ।

तर सरकार जसरी भएपनि मेलम्चीको पानी ल्याएर उपत्याकाबासीलाई शुद्ध पानी उपलब्ध गराउने एकोहोरो प्रयासमा लागिपरेको छ ।

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । मेलम्चीको रिभरबाट सुन्दरीजलसम्मको कुल २५ दशमलव ९ किलोमिटर सुरुङमध्ये २५ दशमलव ४ किलोमिटर सुरुङको ब्रेक थ्रु भएको हो ।

यो प्रगतिसँगै उपत्याकाबासीमा केही आशा भने पलाएको छ । आयोजनाको अम्बाथान–ग्यालथुम खण्डको ८ दशमलव २ किलोमीटर सुरुङको अन्तिम बिन्दुमा निर्धारित कार्यक्रम अनुसार गत शुक्रबार मध्यरातमा सुरुङ छेड्ने काम सम्पन्न भएको मेलम्ची खानोपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाअन्तर्गत अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७ दशमलव ५ किलोमिटर सुरुङमध्ये अब ग्यालथुमदेखि सिन्धु खण्डको ५ सय मिटर सुरुङ निर्माण गर्न बाँकी रहेको छ ।

सो खण्डमा अझै करिब तीन महिना समय लाग्नेछ । सूचना अधिकारी पन्तका अनुसार सिन्धु खण्डको सुरुङमा कमसल भूभाग निस्किएकाले बढी समय लाग्ने भएपनि आगामी तीन महिनाभित्रमा सुरुङ निर्माण कार्य सम्पन्न हुनेछ ।

आयोजनाको मुहान रहेको हेलम्बुको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७ दशमलव ५ किलोमिटर सुरुङमध्ये सबैभन्दा लामो सिन्धुदेखि सुन्दरीजल खण्डको ९ दशमलव ४ किमी सुरुङ अघिल्लो वर्ष नै सम्पन्न भइसकेको थियो ।

यसबर्ष आम्बाथानदेखि ग्याल्थुम सम्मको ८ दशमलव २ र गत फागुनमा इन्टेकदेखि आम्बाथानसम्मको ८ सय ५ मिटर सुरुङ निर्माण सकिएर फिनिसिङ समेत भइसकेको आयोजनाले जनाएको छ ।

आयोजनाले सुन्दरीजलसम्म सुरुङ निर्माण कार्य गर्नेछ भने सुन्दरीजलदेखि उपत्यका सम्मको काम भने मेलम्ची खानेपानी उपआयोजान–२ ले गर्नेछ । आयोजनाका अनुसार उपत्याकाभित्रका विभिन्न स्थानमा पानी जम्मा गर्ने पोखरी, ड्राइभर्सन र पाइप विच्छ्याउने काम भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV