१६ पुष २०७४, आईतवार
  • सुवास लामिछाने,

पर्वत । तल्लो मोदी १ जलविद्युत् आयोजनाले शेयरधनीलाई चुक्ता पुँजीको पाँच प्रतिशत (पाँच करोड ७५ लाख रुपैयाँ) नगद लाभांश दिने भएको छ । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले आयोजनाले हाल कायम गरेको चुक्ता पुँजीको पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

पर्वतमा १० मेगावाटको तल्लो मोदीबाट २०६९ मंसिरदेखि विद्युतको व्यापारिक उत्पादन सुरु भएको हो । साधारणसभामा आयोजनाका अध्यक्ष सकुन्तलाल हिराचनले आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको ६ वर्षमा लक्ष्यअनुसार नै आम्दानी दिएको जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७२ ÷ ७३ मा बाढीका कारण साढे चार महिना विद्युत् आपूर्ति बन्द हुँदा सो आर्थिक वर्षको उत्पादन निकै कम भए पनि आयोजना बिमा गरेकाले ठूलो क्षति व्यहोर्नु नपरेको पनि उहाँको भनाई थियो । उक्त आर्थिक बर्षमा आयोजनाले बिमाबापत १९ करोड सात लाख रुपैयाँ भुक्तानी पाएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०७२ ÷ ७३ मा १४ करोड ७१ लाख आम्दानी गरेको आयोजनाले गत आर्थिक बर्षबाट ७७ प्रतिशतले वृद्धि भएर २८ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्षमा एक करोड ३५ लाख ६४ हजार खुद नाफा गरेको कम्पनीले गएको आर्थिक वर्षमा चार करोड ८८ लाख ४८ अजार खुद नाफा कमाएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनासम्म कम्पनीले चार करोड १८ लाख ८१ हजार खुद नाफा कमाएको छ । कम्पनीले समीक्षा अवधिमा नौ करोड ७१ लाख ३३ हजार रुपैयाँको विद्युत् बिक्री गरेको छ ।

चालू आवको असोजसम्म एक करोड ८० लाख ३१ हजार युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा पानीको बहाव बढ्न गई २२ हजार पाँच सय ६९ युनिट बढी विद्युत् उत्पादन भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV