१६ पुष २०७४, आईतवार
  • सुवास लामिछाने,

पर्वत । पर्वत जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरु मापदण्ड नपुगेका प्रधानाध्यापकहरुको  भरमा चलिरहेका छन् । वर्षेनि सामुदायिक विद्यालयहरुको दरबन्दी मिलान हुन नसक्दा वर्षाैदेखि सामुदायिक विद्यालयहरु मापदण्ड नपुगेका प्रधानाध्यापकहरुको  भरमा चलेको  जिल्ला शिक्षा कार्यालय पर्बतले  जनाएको  छ  ।

जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलका अनुसार जिल्लाका ३ सय १० सामुदायिक विद्यालय अन्र्तगत ६० प्रतिशत विद्यालयहरुमा मापदण्ड विपरीतका प्रधानाध्यापकहरु रहेका छन् । माध्यमिक तह ७८ निम्न माध्यमिक तह ३७ र प्राथमिक तह १ सय ९९ सामुदायिक विद्यालय रहेको जिल्लामा ४० भन्दा बढी बिद्यालयमा मापदण्ड विपरीतका प्रधानाध्यापकहरु रहेको  पौडेलले जानकारी दिनुभयो  ।

शिक्षा निर्देशिकाले  योग्यता पुगेको , स्थायी, वरिष्ठ शिक्षकहरुलाई विद्यालयको  प्रधान अध्यापकको  अख्तियारी दिनुपर्ने  कानुनी प्रावधान रहे  पनि पहुँचका भरमा मापदण्ड विपरीतका प्रधान अध्यापकहरु नै  विद्यालयहरुले  स्वीकार्नुपरेको  उहाँको भनाई छ ।

सामुदायिक विद्यालयहरुको  पुस्तौनी रोग नै  बनेको  प्रधान अध्यापक समस्याले  जिल्लाको  शैक्षिक विकासलाई निकै  समस्यामा पार्दै लगेको छ  । जसका कारण बालबालिकाहरु गुणस्तरीय शिक्षा र योग्य प्रधान अध्यापक र शिक्षकबाट बञ्चित छन् । कतिपय बिद्यालयहरुमा स्थायी शिक्षक हुँदाहुँदै पनि अस्थायी शिक्षक प्रधान अध्यापक बनेको जिल्ला शिक्षा अधिकार पौडेलले बताउनुभयो ।

शिक्षामाथिको  राजनीतिक हस्तक्षेप, पहुँचवालाहरुको  दबदबाले  स्थायी, मापदण्ड पुगेका शिक्षकहरु कुनै  पनि जिम्मेवारीमा रहने अवस्था नआएको पनि उहाले  बताउनुभयो  । जसका कारण विद्यालय परिवारभित्रै  मनमुटाव सिर्जना हुने  गरेको  भन्दै अब यो  प्रवृत्तिको  अन्त्य हुनुपर्ने उहाँको जोड थियो ।

नेपाल सरकारले  कानुनीरुपमै  योग्यता पुगेको  स्थायी सेवा अवधिमा रहेका शिक्षकलाई विद्यालयको  प्रधानअध्यापकको  अख्तियारी दिने  व्यवस्था गरेको  छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV