१६ पुष २०७४, आईतवार

फिदिम ।  पाँचथरको फालेलुङ गाउँपालिकास्थित वडा नं १ र २ तथा ६ र ७ मा सञ्चालन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ अलैँची जोन कार्यक्रम सञ्चालन भएपछि त्यस क्षेत्रका अलैँची कृषक उत्साहित भएका छन् ।

यो कार्यक्रम सञ्चालन भएपछि अहिले कृषकले पहिलेको तुलनामा गुणस्तरीय अलैँची उत्पादन गर्न थालेका छन् भने उत्पादनमा समेत वृद्धि भएको उक्त एकाइका वरिष्ठ कृषि अधिकृत कमलेश तिवारीले बताउनुभयो ।

फालेलुङको याङ्तारु अलैँची जोन सञ्चालक समितिमार्फत त्यहाँ आबद्ध कृषक समूहलाई कार्यालयले आवश्यक कृषि सामग्री प्रदान गर्ने गरेको छ । याङ्तारु अलैँची जोन सञ्चालक समितिका व्यवस्थापक टीका रिजालले भन्नुभयो, “पहिल्यै हामी परम्परागत प्रणालीबाट अलैँची खेती गर्ने गथ्र्यौं, तर अहिले नयाँ प्रविधिमा आधारित अलैँची खेती गर्न थालेका छौँ, हामी धेरै उत्साहित छौँ ।” अहिले अलैँचीको उत्पादनसँगै यो कार्यक्रम सञ्चालन भएका कृषकले उत्पादन गरेको अलैँचीको भाउसमेत अन्य अलैँचीको तुलनाममा प्रतिमन रु दुई हजारभन्दा बढी रहेको उहाँले बताउनुभयो ।

अहिलेसम्म कार्यक्रम सञ्चालन भएका चार वडामा ५० वटा समूहका दुई हजारभन्दा बढी कृषक लाभान्वित भएको उहाँले जानकारी दिनुभयो । अहिलेसम्म त्यस वडामा कृषकलाई आवश्यक हुने सामग्री लगभग पाइप ५० हजार मिटर, दुई वटा ट्र्याक्टर, धुवाँरहित सुधारिएको भट्टी, ४० वटा डिजिटल तराजु, विषादी हाल्ने मेसिन गट स्प्रेयर २५ वटा, मिनी स्प्रेयर ४० वटा मल ५० प्रतिशत अनुदानमा १० हजार क्विन्टल उपलब्ध गराउनुका साथै विभिन्न तालीम गोष्ठी आयोजना पनि गरिएकोे व्यवस्थापक रिजालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV