१६ पुष २०७४, आईतवार

काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त पाँचवटै पार्टीभित्र समानुपातिकतर्फका प्रदेश सांसद छनोटसँगै भाँडभैलो मच्चिएको छ । विशेष आरक्षणका रूपमा राज्यका नीतिनिर्माण तहमा उत्पीडित जाति, वर्ग, क्षेत्र र लिंगका व्यक्तिको प्रतिनिधित्वको व्यवस्था गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरिए पनि दलहरूले आफ्नै ‘घेरा’ भित्रबाट मात्रै सांसद छानेपछि किचलो बढेको हो । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

निर्वाचन आयोगले दिएको समयसीमाभित्र दलहरूले शुक्रबार प्रदेशसभातर्फका सांसदको नामावली आयोगमा बुझाएका थिए । आयोगले नै बन्दसूचीको क्रमांकलाई तलमाथि नगरी नाम छनोट गरेर बुझाउन आग्रह गरे पनि ‘क्लस्टर’ मिलाउँदा नेताहरूले आफ्नैलाई रोजेपछि भाँडभैलो निम्तिएको हो ।

एमाले माओवादीमा नेताहरूले आफ्नै नातागोता रोजेको र कांग्रेसमा देउवाले पौडेल पक्षलाई बेवास्ता गर्दै आफूपक्षीय नेताहरूलाई मात्रै राखेको भन्दै विवाद बढेको छ भने मधेसकेन्द्रित दल राजपाको केन्द्रीय कार्यालय नै तोडफोड भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मनोमानी सांसद चयन गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष निर्णय पुस्तिकामा हस्ताक्षरै नगरी बैठक छाडेर बाहिरिएको थियो ।

माओवादी केन्द्रभित्र पनि समानुपातिक सांसद छनोट गर्दा नेताहरूकै बीचमा चर्काचर्की परेको थियो । खासगरी प्रदेश ३ को सांसद छनोटमा विवाद बढेपछि प्रदेश इन्चार्ज हितमान शाक्यको मोबाइल नै फुटेको छ । खस आर्यबाट पुरुषतर्फको १ नम्बर सूचीमा परेका झम्क पराजुलीले आफ्नो नाम काटेर नेताहरूले आफ्नै श्रीमती र छोरीलाई राखेको भन्दै शाक्यको मोबाइल पार्टी केन्द्रीय कार्यालयको छतबाट फ्याँकिदिएका थिए । उनले प्रदेश इन्चार्ज शाक्य, संयोजक झक्कु सुवेदी, कार्यालय सदस्य दिलीप प्रजापतिलगायत नेता बसिरहेको ठाउँमा पुगेर शाक्यको मोबाइल फ्याँक्नुका साथै झोलासमेत टिपेर हिँडेका थिए ।

 

राजपामा भने विवादका कारण केन्द्रीय कार्यालयमै तोडफोड भएको छ । मधेसी निजामती कर्मचारी मञ्चका पूर्वअध्यक्ष विनोदकुमार सिंहलाई समानुपातिकमा सिफारिस नगरेपछि असन्तुष्ट पक्षले शुक्रबार केन्द्रीय कार्यालयमै तोडफोड गरेका थिए । कार्यालय तोडफोडको घटना छानबिन गरेर कारबाहीका लागि सिफारिस गर्न उसले शनिबार छानबिन समिति नै गठन गरेको छ ।

राजपा अध्यक्षमण्डल संयोजक महन्थ ठाकुरले शुक्रबारको घटना छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन समिति गठन गरेको विज्ञप्तिमार्फत जनाएका छन् । समितिमा गोविन्द चौधरी, सत्यनारायण मण्डल र केशव झा छन् । यो समितिले शनिबारदेखि नै काम थालिसकेको राजपाले जनाएको छ ।

– कांग्रेस सभापति शेरबहादुर देउवाले मनोमानी सांसद चयन गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको विरोध । निर्णय पुस्तिकामा हस्ताक्षरै नगरी बैठक बहिष्कार ।

– माओवादी केन्द्रले प्रदेश ३ को सांसद छनोटमा नपारेको भन्दै खसआर्यको १ नम्बर सूचीमा रहेका झम्क पराजुलीद्वारा प्रदेश इन्चार्ज हितमान शाक्यको मोबाइल फुटाइयो ।

– राजपाले मधेसी निजामती कर्मचारी मञ्चका पूर्वअध्यक्ष विनोदकुमार सिंहलाई समानुपातिकमा सिफारिस नगरेपछि असन्तुष्ट पक्षद्वारा केन्द्रीय कार्यालय तोडफोड । छानबिन गर्न समिति गठन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV