१५ पुष २०७४, शनिबार

काठमाडौँ । कुकुर घरपालुवा स्तनधारी जनावर हो । घरको सुरक्षाका लागि पालिने कुकुरलाई स्वामी भक्त प्राणीको रूपमा लिइन्छ र यो मानिसहरूसँग अत्यन्त मिलेर बस्न सक्दछ । कुकुरको सुन्ने र सुँघ्ने शक्ति अत्यन्त तिक्ष्ण हुन्छ । घरको रेखदेखको लागि पालिने कुकुर मानिसहरूले शोखका लागि पनि पाल्ने गर्छन् । शिकार गर्न सहयोग गर्ने उत्तम घरपालुवा जनावरको रूपमा केही मानिसहरूले कुकुर पाल्ने गर्दछन् ।

कुकुरले सधैँ आफ्ना मालिकको आज्ञा मान्ने भएकाले पनि कुकुरको इमान्दारिताको कदर गर्ने गरिन्छ । त्यसैले मानिसहरुबीचमा कुकुर निकै लोकप्रिय घरपालुवा जनावर हो । स्वीडिस अनुसन्धानका अनुसार कुकुर पाल्नाले मालिकको हृयद रोगको जोखिम कम हुन्छ । ४० देखि ८० वर्षसम्मका ३४ लाख मानिसहरुमा गरिएको अनुसन्धानमा कुकुर पाल्नाले हृदय रोगको जोखिम २३ प्रतिशतले कम हुने देखिएको छ । १२ वर्ष लगाएर गरिएको सो अनुसन्धानले कुकुर पाल्दा कुनै पनि स्वास्थ्य समस्याले मृत्यु हुने जोखिम २० प्रतिशतले कम हुने पाइएको छ । कुकुरको कारणले मानिसहरु एक्लोपना तथा तनाव (डिप्रेशन)बाट मुक्त हुन्छन् ।

विभिन्न अनुसन्धानका निष्कर्शहरुलाई आधार मान्दै सन् २०१३ मा अमेरिकन हर्ट एशोसिएशनले कुकुर पाल्नु हृदय रोगको जोखिम कम हुनुसँग सम्बन्धीत रहेको हुन सक्ने बताएका थिए । अन्य जनावर पाल्ने भन्दा कुकुर पाल्ने मानिस शारीरिक रुपमा तन्दुरुस्त हुन्छन् । तन्दुरुस्त तथा शारीरिक रुपमा सक्रिय रहेका मानिसहरुले नै कुकुर पाल्छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV