१५ पुष २०७४, शनिबार
  • गणेश खनियाँ,

एकअर्का प्रति आरोप–प्रत्यारोपमा उत्रिएपनि राजनीतिक दलका नेताहरुको मुलुक समृद्धिको अभिव्यक्ति छुट्ने गरेको छैन । निर्वाचनसँगै एकअर्काको खोइरो खन्न खप्पिस दलका नेताहरु अबको मुलुक समृद्धि र विकासतर्फ उन्मुख भएको समान अभिव्यक्ति दिन पछि पर्दैनन् ।

तर, त्यो समृद्धिको नेतृत्व आफैंले गर्ने उद्घोष गर्न पछि पनि पर्दैनन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरुले विकास र समृद्धिलाई नै जोड दिए ।

राजधानी काठमाडौंको एक हलमा नेता तथा दलका कार्यकर्ताहरुको खचाखच उपस्थिति थियो । कार्यक्रम कुनै सामान्य जस्तो थिएन । हुन पनि हो यो कार्यक्रम एमाले उपाध्यक्ष वामदेव गौतमको पुस्तक विमोचनको थियो ।

प्रमुख दलका ठूला नेताहरु उपस्थित कार्यक्रममा एकअर्काप्रतिको घोचपेच कम्ति रमाइलो देखिदैन थियो तर, पनि उनीहरुको साझा अभिव्यक्ति मुलुकको समृद्धि मात्र देखिन्थ्यो ।

शीर्ष नेताहरुले राजनीतिक एजेण्डा अब अन्त्य भएको भन्दै समृद्धि, सुशासन अबको आवश्यकता भन्न कति पछि परेनन् । कार्यक्रममा उपस्थित एमालेका अध्यक्ष केपी ओलीले बामगठबन्धनको दलले बलियो जनमत पाउनु विकास र समृद्धिको लक्ष्यको विजय भएको तर्क गर्नुभयो ।

उहाँले राजनीतिक इमान्दारिताका साथ विकासतर्फ मुलुक जाने उल्लेख गर्नुभयो । कांग्रेस तर्फ लक्षित गर्दै अध्यक्ष ओलीले राजनीतिक वेइमानी प्रर्दशन नगर्न आग्रह गर्नुभयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि जनताले एक हुन आवश्यक रहेको सन्देश दिएको बताउँदै आफूहरु अलग नहुने स्पष्ट पार्नुभयो । वाम गठबन्धनलाई बिथोल्ने र अस्थिरता निम्त्याउन प्रयास भइरहेको भए पनि अब कसैले विगार्न खोजेर बिग्रने अवस्था नरहेको प्रष्याउनुभयो ।

निर्वाचनमा पराजयको पीडा भोग्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रकमको चलखेलले चुनावी नतिजा आएको उल्लेख गर्नुभयो । उहाँले अब सुशासन आवश्यक रहेको बताउनुभयो । उहाँले मुलुकको विकासका लागि कांग्रेस आवश्यक रहेको भन्दै बताउनुभयो ।

नेताहरुले भने झैं अब मुलुक विकास र समृद्धितर्फ अघि बढाउन दलहरुबीच सहकार्य आवश्यक छ । एमाले नेता बामदेव गौतमले लेखेको पुस्तक नेपाल नवनिर्माण अभियानमा बिश्वका अति बिकसित र दोस्रो बिश्वयुद्ध पश्चात चीन, जापान जस्ता एसियाली मुलक समृद्धि र बिकासका मोडेलहरुको वारेमा चर्चा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV