१५ पुष २०७४, शनिबार

बाँके । उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले शनिबार नेपालगन्ज पुगेर पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेका छन् ।

नेपालगञ्जको सोल्टी होटलमा पुगेर पूर्व राजा शाहसँग भेट गरेका हुन् । आफू पार्टीको कार्यक्रममा नेपालगञ्ज आउँदा पूर्व राजा पनि यहीँ भएको थाहा पाएपछि शिष्टाचार भेट गरेको अध्यक्ष थापाले जनाएका छन् ।

पूर्व राजासँग भेटेपछि शनिबार नै नेपालगञ्जमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष थापाले पूर्व राजाको पश्चिम भ्रमण होटल उद्घाटन र धार्मिक मात्रै भएको र राजनीतिक उद्देश्य नभएको दावी गरे । अध्यक्ष थापाले भने , ‘राजनीतिक अर्थ राख्ने खालको कुनै छलफल भएन ।’

यसैबीच पत्रकार भेटघाटमा राप्रपाका अध्यक्ष थापाले नयाँ सरकार गठनका लागि अब वैधानिक राजनीतिक अवरोध नभएको बताए । सोमबार बस्ने मन्त्रीपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन मिति तोक्ने सम्भावना रहेको उनले जानकारी दिए । यस्तै, प्रदेश प्रमुख र प्रदेशका राजधानी पनि छिट्टै तोकिने उनले बताए । सहमतीका आधारमा काम गर्ने उनको भनाई छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ सरकारलाई सत्ता हस्तान्तरणका लागि राजनीतिक र मानसिक रुपमा आतुर भएको उपप्रधानमन्त्री थापाले बताएका थिए । उनले राप्रपालाई ग्रहदशा लागेको बताउँदै अब सडकबाटै हिन्दु धर्म र राजसंस्थाको एजेण्डा उठाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV