१५ पुष २०७४, शनिबार

काठमाडौं । वागमती पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष अच्युतबहादुर खड्काले नेपाल आयल निगम, गुणस्तर तथा नाप तौल विभाग र व्यवसायीले संयुक्त रुपमा गरेको परिक्षणबाट पेट्रोलियम पदार्थको परिणाम निगमले कम दिने गरेको पुष्टी भएको भन्दै व्यवसायीलाई तोकिएको परिमाण पूरा माग गर्नुभएको छ ।

वागमती पेट्रोलियम डिलर्स एशोसियशनको पाँचौ बार्षिक साधारण सभाको कार्यक्रम उद्घाटन कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो–“४ हजार लिटर पेट्रोल ल्याउँदा ९९ सय लिटर नपुगेको प्रमाणित भइसक्यो तर अहिलेसम्म निगमले हाम्रो माग पूरा गरेको छैन ।”

पटक पटक माग पूरा परिमाण पाउनका लागि डिलर्स एशोसियशनले माग राखेको भएपनि आयल निगमले आलटाल गरेको उहाँको भनाई छ । पटक पटक विभिन्न समिति बनाएर छानविन भएपनि प्रमाणित तथ्यलाई लागू गर्न उहाँले माग गर्नुभयो ।

कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले पछिल्लो समय पेट्रोलियम र ग्याँस जस्ता सम्बेदशील पदार्थमा भइरहेको आगलागि नियन्त्रणका लागि सबै पक्ष जिम्मेवार हुनु पर्ने बताउनु भएको छ भने व्यवसायीको जायज माग पूरा गराउँन आफू लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले अत्यन्त प्रज्वलनशील पदार्थको कारोवार गर्दा निगम, व्यवासायी र उपभोक्ता स्वयम् सचेत हुनुपर्ने धारणा राख्नु भयो । निगमले आगलागि नहोस् भनेर सबै सरोकालवाला निकायसँग छलफल गरि सबै पेट्रोल पम्प र ग्याँस उद्योगहरुमा यसको अनुगमन गर्न लागेको जानकारी दिनुभयो ।

वागमती पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष अच्युतबहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा नेपाल डिलर्स एशोसियनका अध्यक्ष लिलेन्द्र प्रधानले व्यवसायी र निगमबीच अविश्वासको खाडल पुर्नपर्ने धारणा राख्नु भयो भने पूर्व अध्यक्ष सरोज पाण्डेले समय अनुसार निगम र डिलर्सको नेतृत्व चल्नु पर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा विभिन्न पदाधिकारीहरुले समेत आ आफ्नो धारणा राखेका थिए । कार्यक्रममा पेट्रोलियम पदार्थ सम्बन्धी उत्कृष्ट समाचार प्रशारण गरे वापत न्यूज २४ टेलिभिजनमा पत्रकार संगम बानियाँ, र वागमती पेट्रोलियम डिलर्स एशोसियशनका कर्मचारीद्वय श्यामकृष्ण श्रेष्ठ र नारदप्रसाद भण्डारीलाई नगद सहित सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV