१४ पुष २०७४, शुक्रबार

काठमाडौँ महानगरपालिकाले महानगरपालिकाका सडक तथा पेटीमा रहेका वृद्धवृद्धा तथा अशक्त एवं अपांग व्यक्तिलाई हटाउने भएको छ ।

कामपाले आज आयोजना गरेको उत्प्रेरणा एवं क्षमता विकास कार्यक्रम तथा अन्तर्राष्ट्रिय स्वयंसेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यले तिनलाई महानगरभित्रका ३२ वटै वडामा राखिने बताउनुभयो । यही पुस २१ गतेदेखि अभियानका रुपमा शुरु गरिने उक्त कार्यक्रममा आफ्नो टोल, छिमेक र सडकमा बेवारिसे अवस्थामा रहेकाहरुबारे सूचना दिन आग्रह गरिएको छ ।

उक्त कार्यका लागि मानवआश्रम सेवा समितिले सहयोग गर्ने भएको सो आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । उहाँले आफ्नो संस्थाको सामाखुशी र बूढानीलकण्ठमा रहेका शाखा–उपशाखामा उनीहरुलाई तत्काल व्यवस्था गरिने बताउँदै आगामी दुई वर्षभित्र महानगरका सडक बेवारिसे तथा अनाथ व्यक्तिमुक्त गर्ने योजना भएको जानकारी दिनुभयो ।

महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले महिलालाई निर्णायक तहमा पु¥याई परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । महिला तथा पुरुष स्वयंसेविका तथा सामाजिक परिचालिका तथा महानगरभित्रका वडाध्यक्ष तथा पदाधिकारीको सहभागिता रहेको सो कार्यक्रममा मानवआश्रम सेवा समितिले आमा, बुबा तथा वद्धवृद्धाको सेवा गर्ने विषयमा तालीम दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV