१४ पुष २०७४, शुक्रबार
  • रामगोपाल तमखु

राष्ट्रिय क्षयरोग केन्द्र भत्तपुरले क्षयरोगको अत्याधुनिक पद्धतिबाट उपचार सुरु गरेको छ । केन्द्रले छोटो अवधि उपचार विधि (एसटीआर) पद्धतिमा उपचार सुरु गरेको हो ।

बहुऔषधी प्रतिरोधी उपचार विधि अपनाउँदै आएको केन्द्रले अब भने छोटो अवधी उपचार विधि मार्फत उपचार गर्नेछ । छोटो अवधी उपचार विधिमा क्षयरोगका बिरामीलाई दुई चरणमा विभाजन गरी नौ महिनासम्म उपचार गरिने केन्द्रका निर्देशक केदारनरसिंह केसीले जानकारी दिनुभयो ।

पहिलो चरण, चार महिनाको ईन्सेटिभ र दोस्रो चरण पाँच महिनाको कन्टिनियन्स चरण हुने जानकारी दिंदै केसीले पहिलो चरणमा सुईसहित ६ प्रकारका औषधीको प्रयोग गरिने र दोस्रो चरणमा चार प्रकारका औषधी प्रयोग गर्ने बताउँनुभयो ।

बहुऔषधी प्रतिरोधी उपचार विधिबाट उपचार गर्दा बिरामीलाई पर्ने असरलाई ख्याल गर्दै अत्याधुनिक पद्धतिमा उपचार सुरु गरिएको केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार बहुऔषधी प्रतिरोधी उपचार विधिबाट २० देखी २४ महिनासम्म उपचार गर्नुपर्दा विरामीलाई नकारात्मक असर पर्ने गरेको थियो । केन्द्रले नौ महिने यो छोटो अवधी उपचार विधि हाललाई काठमाडौं, विराटनगर, बुटवल र नेपालगञ्जबाट प्रदान गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV