१४ पुष २०७४, शुक्रबार
  • रिया भण्डारी,

पछिल्लो समय दुरबिन अर्थात ल्याप्रोस्कोपी माध्यमबाट गरिने शल्यक्रियाको प्रयोग नेपालमा पनि बढ्दै गएको छ । बिना चिरफार उच्च गुणस्तरको लेन्सका माध्यमबाट सानो प्वालको भरमा गरिने शल्यक्रिया स्त्री तथा प्रसुति रोगमा अझ बढी प्रभावकारी बनेको छ ।

नेपालमा दुरबिनबाट गरिने शल्यक्रियाको प्रबिधि प्रायजसो अस्पतालले भित्र्याईसकेका छन् । प्रविधिको विकाससँगै विकसित देशहरुबाट सुरु भएको यो शल्यक्रियाको प्रविधि यतिबेला नेपालका अस्पतालहरुमा प्रभावकारी बन्दै गएको छ ।

अप्रेसन गरेर पनि धेरै दिन अस्पताल बस्नु नपर्ने छिटो छरितो अप्रेसन हुने भएकोले दुरबिनको माध्यमबाट गरिने अप्रेसन अर्थात् ल्याप्रोस्कोपी सर्जरी प्रभावकारी बन्दै गएको हो ।

ल्याप्रोस्कोपीजन्य उपचारपछि चाँडै घर वा काममा फर्किन मिल्ने, कम पीडा र तुलनात्मक रूपमा कम संक्रमण हुने हुँदा स्त्री रोग देखि पत्थरी सम्मको अप्रेसनमा यहि प्रबिधिबाट अप्रेसन बढी हुने गरेको छ ।

चिरेर अप्रेसन गरेको बिरामी हप्तौँसम्म अस्पतालमै बस्नुपर्ने बाध्यता छ तर दुरबिनबाट गरिएको अप्रेसनको ४८ घन्टा मै बिरामी घर जान सक्ने चिकित्सकको भनाई छ ।

धेरै दाग नदेखिने छिटो शल्यक्रिया हुने भएकोले स्त्री तथा प्रसुति रोगमा यो प्रबिधि बढी प्रयोग भएको हो । अहिले स्त्री रोगको बच्चा निकाल्ने अप्रेसन बाहेक स्थायी बन्ध्याकरण, पाठेघर जेलिएको जालो र डिम्बाशयमा पलाएको डल्लो हटाउन, डिम्बवाहिनीमा रहेको गर्भ पाठेघर र पाठेघरमा पलाएको मासुको डल्लो निकाल्न पनि उपचारात्मक ल्याप्रोस्कोपी प्रविधि अपनाउन थालिएको स्त्री तथा प्रसुति शल्य चिकित्सक डा रंगिना शाह बताउनु हुन्छ ।

पेटमा स–साना घाउ बनाई फाइबर अप्टिक इन्डोस्कोप (दूरबिन) को मद्दतले तल्लो पेटका भित्री अङ्गहरूको समस्या हेर्ने विधिलाई ल्याप्रोस्कोपी भनिन्छ । ग्याँस, प्रकाश र दूरबिन पठाउन नाइटोनिर सानो प्वाल बनाइन्छ ।

समस्याग्रस्त भित्री अङ्गहरू हटाउने उपकरण र रक्तस्राव रोक्ने औषधि पठाउन पेटको तल्लो भागमा दुईतिर अन्य स–साना प्वालहरू बनाइन्छ । धेरै ठुलो घाउँ नहुने हुँदा अप्रेसन गरिसके पछि इन्फेक्सनको डर हुँदैन त्यसकारण ओपन सर्जरीमा जस्तो एन्टीबायोटिक लागायत औषधि धेरै चलाउन नपर्ने बिशेषज्ञ बताउछन् ।

स्वास्थ्य क्षेत्रमा भित्रिएको उपयोगी प्रबिधि मध्यको दुरबिनबाट हुने यो प्रबिधि अन्तर्राष्ट्रियरुपमै सफल मानिएको छ । उच्च दक्षता चाहिने यो उपचार विधिमा सिकारु डाक्टरहरूले जोखिम मोल्न सक्दैनन्। त्यसकारण सुरक्षित छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV