१४ पुष २०७४, शुक्रबार

श्यामशितल परियार

लमजुङ । पहिलो–पहिले गाउँघरमा परालको गुन्द्री अधिक प्रयोग हुन्थ्यो । आजकाल भने परालको गुन्द्री प्रयोग गर्नेको संख्या घट्दै गएको छ । गाउँघरमा गुन्द्री जन्य आधुनिक उत्पादन प्रयोग हुन थालेपछि परालको गुन्द्री लोप हुने अवस्थामा पुगेको छ । विगतमा परालको गुन्द्री प्रयोग गरेका बुढापाका भने परालको गुन्द्री लोप हुने अवस्थामा पुगेपछि चिन्ति छन् ।

पारिलो घाम, घर नजिकै परालको गुन्द्री बुन्ने तान, तानमाथि लमजुङ स्थित सुन्दरबजार नगरपालिका वडा नम्बर ६ की सन्तुमाया बुढापृथी । उनलाई गुन्द्री बुन्न भ्याइनभ्याइ छ । बिहानदेखि बेलुकासम्म गुन्द्री बुन्ने उनको दैनिकी बनेको छ । हरेक साल आफैले गुन्द्री बुनेपछि सन्तुमायाको परिवारलाई अरु जस्तै गुन्द्रीजन्य बस्तु किन्नु पर्दैन । तर, गाउँघरका अन्य परिवार भने प्लाष्टिकको प्रयोगमा बनेका गुन्द्री प्रयोग गर्छन् । सन्तुमाया गुन्द्री बुनेर आफ्नो आवश्यकता पूर्ति त गर्छिन । तर, पछिल्लो सयम परालको गुन्द्री बुन्ने परम्परा हराउँदै गएकोमा उनी चिन्तित छिन् ।

गुन्द्री बुन्नु आफ्नो आवश्यकता पूर्ति गर्नु मात्र पनि होइन । आत्मनिर्भर बन्नु पनि हो । पछिल्लो समय गाउँघरमा गुन्द्री बुन्न जान्नेको संख्या घट्दै गएको छ । प्लाष्टिकको गुन्द्रीजन्य सामग्रीले गाउँघरमा बसोबास गर्नेलाई परनिर्भर मात्र बनाएको छैन । नयाँ पुस्तामा पुख्र्यौली शिप हस्तान्तरण हुने परम्परा समेत हराउँदै गएको छ । निश्चित पैसामा प्लाष्टिकबाट बनेको गुन्द्री पाउन थालेपछि नयाँ पुस्ता गुन्द्री बुन्ने शिप सिक्न समेत अल्छी मान्छन् ।

गुन्द्री बुन्न अन्य काम गरे जस्तो कठिन छैन । कच्चा पदार्थ पनि सजिलै उपलब्ध हुन्छ । व्यक्तिगत प्रयोगका गुन्द्री बुन्न निश्चित समय नै छुट्याउनु पर्छ भन्ने हुँदैन । फुर्सदको समयमा बुने पनि एउटा परिवारका लागि पुग्दो हुन्छ । तर, आधुनिकताको नाममा अहिले गुन्द्री बुन्ने परम्परा हराउँदै गएको छ । जसले, परनिर्भरता मात्र बढाएको छैन, पुख्र्यौली शिप नयाँ पुस्तामा हस्तान्तरण गर्ने परम्परा समेत हराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV