१४ पुष २०७४, शुक्रबार

अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने रिटमा दाबी

काठमाण्डौ । राष्ट्रियसभा निर्वाचन सम्बन्धि अध्यादेश विवाद सर्वोच्च अदालतमा पुगेको छ । अध्यादेश राष्ट्रपतिले रोकेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले आज सुनुवाई गर्ने भएको हो ।

बिहीबार दर्ता भएको रिट निवेदनमा सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपति कार्यालयले रोक्न नमिल्ने दाबी गरिएको छ । अध्यादेश प्रकरणमा राष्ट्रपति भने दलीय सहमतिको प्रतिक्षामा रहेको राष्ट्रपतिको निजि सचिवालयले जनाएको छ । राष्ट्रिय सभा गठन नहुँदासम्म प्रतिनिधि सभामा महिला प्रतिनिधित्व सुनिश्चित गर्न नसकिने भन्दै रिटमा नयाँ सरकार गठनमा समेत अवरोध उत्पन्न भएको दाबी गरिएको छ । माघ ७ गतेसम्म संघीय संसद् र प्रदेश सभा गठन नभएमा संवैधानिक संकट उत्पन्न हुनसक्ने औंल्याउँदै रिटमा यस्तो अवस्थामा राष्ट्रपतिले अध्यादेश पास नगरी देशलाई अनिर्णयको बन्दी बनाउन पाईंदैन, भनिएको छ ।

राष्ट्रपति र प्रधानमन्त्री कार्यालय समेतलाई विपक्षी बनाइएको अधिवक्ता यज्ञमणि न्यौपानेद्वारा दायर रिटमा आज पेसी तोकिएको छ । व्यवस्थापिका संसद् रहँदासम्म विधेयकमा दलहरुबीच सहमति हुन नसकेपछि सरकारले अध्यादेश सिफारिस गरेको थियो ।

LIVE TV