१३ पुष २०७४, बिहीबार

तेह्रथुम । संखुवासभा र तेह्रथुमको सिमानामा पर्ने तीनजुरे–मिल्के–जलजले क्षेत्रको दिगो विकास गर्ने उद्देश्यले १० वर्षे संरक्षित वन परियोजना लागू गरिएको छ ।

टिएमजेका नामबाट परिचित उक्त क्षेत्र पर्यटन र जैविक विविधताका हिसाबले महत्वपूर्ण मानिएको छ । टिएमजे क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि वन मन्त्रालयले जिल्ला वन कार्यालयमार्फत पाँचवर्षे संरक्षित वन व्यवस्थापन कार्ययोजना अघि बढाएको हो ।

नेपालमा पाइने ३२ प्रजातिमध्ये २८ प्रजातिका लालीगुराँस पाइने यस क्षेत्रलाई ‘गुराँसको राजधानी’ का रुपमा पनि चिनिँदै आएको छ । जैविक विविधताले भरिपूर्ण यस क्षेत्रमा दर्जनौँ लोपोन्मुख वन्यजन्तु र जडीबुटी पाइन्छन् ।

पाँचवर्षे संरक्षित वन परियोजनाको कार्ययोजना ‘ग्रीन सोलुसन नेपाल’ ले तयार गरेको हो । यस क्षेत्रमा संखुवासभा, भोजपुर, धनकुटा, सुनसरी, मोरङ, तेह्रथुम, ताप्लेजुङ लगायतका जिल्लाबाट भ्रमणमा आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्दछ ।

जैविक विविधताले भरिपूर्ण यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रसम्म प्रचारप्रसारमा जोड दिँदै पर्यटकीय पूर्वाधारको विकास गर्न सकिए संखुवासभा र तेह्रथुमको मात्र नभएर सिंगो प्रदेश नं १ को आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने पर्यटन क्षेत्रमा आबद्ध मनबहादुर लिम्बुको भनाइ छ ।

LIVE TV