१३ पुष २०७४, बिहीबार

जाजरकोट, १३ पुस । दोस्रो जाजरकोट महोत्सव सदरमुकाम खलंगामा शुरु भएको छ ।जिल्लाको कला, संस्कृतिको प्रवद्र्धन, स्थानीय उत्पादनको व्यवसायीकरणका लागि दोस्रो जाजरकोट महोत्सव बुधबारदेखि शुरु भएको हो । उद्योग वाणिज्य संघ जाजरकोटको आयोजना तथा भेरी नगरपालिकाको सहआयोजनामा त्रिभुवन माध्यमिक विद्यालयको प्रांगणमा महोत्सव सञ्चालन भइरहेको छ । छ दिन विद्यालय बन्द गरी महोत्सव शुरु भएको छ ।

‘कला, संस्कृति, पर्यटन, कृषि उत्पादन र औद्योगीकरण हाम्रो अभियानः आत्मनिर्भर, स्वाभिमानी र समुन्नत जाजरकोटको निर्माण’ भन्ने नाराका साथ पाँच दिनसम्म महोत्सव सञ्चालन हुने भएको छ । महोत्सवका साथै कृषि पर्यटन तथा व्यापार मेलाका माध्यमबाट स्थानीय कला संस्कृतिको प्रवद्र्धन तथा उत्पादनलाई व्यवसायीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जाजरकोट उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवको आकर्षणका रुपमा लोपोन्मुख तथा पौराणिक पहिचान झल्काउने झाँकी, स्थानीय बाजागाजा तथा लोकनृत्य रहनेछन् । मेलामा जिल्लामा पाइने बहुमूल्य पत्थर, जडीबुटी, फलफूल, सरु तथा छेडागाडका माछा, सुन्तला, मह, घ्यू, बारेकोटी गाभा, राडीपाखीलगायत घरेलु उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।महोत्सवमा प्रतियोगितात्मक कृषि प्रदर्शनी पनि राखिएको उद्योग वाणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीले बताउनुभयो । रासस

LIVE TV