१३ पुष २०७४, बिहीबार

प्रकाश सिग्देल/शरद आचार्य

चितवन,पुस १३ : निर्वाचनका बेला राजनीतिक दल अनेक आश्वासन बाड्छन् । आश्वासनकै भरमा जनताले मतदान गर्छन् । र, दलका उम्मेदवार बिजयी हुन्छन् । निर्वाचनपछि जनताले पनि दलहरुसँग अपेक्षा गर्नु गलत होइन । भर्खरै सम्पन्न प्रदेश र प्रतिनिसभा निर्वाचनमा मतदान गरेका चितवनवासी दलहरुले प्रतिवद्धता पुरा गर्नेमा आशावादी छन् ।

चितवनको ईच्छा-कामना गाउँपालिका स्थित पिपलटारमा तीन सय घरधुरी सुकुम्बासी बसोबास गर्छन् । उनीहरुले भर्खरै सम्पन्न निर्वाचनमा अनेक आश्वासन पाएका छन् । भोट माग्न आएका अधिकांश उम्मेदवारले बासोबास गरिरहेको भूमिको लालपूर्जा दिलाउने प्रतिवद्धता जनाएका थिए । त्यसैले पिपलटारवासीमा आशा पलाएको छ । लामो समयको सुकुम्बासी दर्जा अब भने हट्नेमा आफुहरु आशाबादी रहेको स्थानीय ईन्द्रबहादुर तामाङ बताउँछन् ।

सदरमुकाम भरतपुरबाट पिपलटार त्यति टाढा छैन । तर, भौतिक बिकासको दृष्टिले पिपलटार दुर्गम झै लाग्छ । पिपलटार क्षेत्र कृषिजन्य उत्पादनका लागि राम्रो क्षेत्र मानिन्छ । तर, कृषि क्षेत्रको बिकासका लागि सरकारको ध्यान पुग्न सकेको छैन । कृषि र पर्यटन क्षेत्रको बिकासका लागि सरकारले बिषेश योजना बनाउनुपर्ने स्थानीयवासी बाबुराम तामाङ बताउँछन् ।

निर्वाचनपछि दलका नेता कार्यकर्ताले मतदातासँग गरेको प्रतिवद्धता विर्सने गलत परम्परा छ । त्यसैले, राजनीतिक दलका नेता कार्यकर्तासँग विश्वस्त हुने आधार त छैन । तर, दलका नेता कार्यकर्ता जनताप्रति उत्तरदायी बन्ने हो भने, निर्वाचनको बेला गरेको प्रतिवद्धता पुरा गर्नै पर्छ । आशा गरौं, चितवन पिपलटारवासीसँग दलका नेता कार्यकर्ताले निर्वाचनमा गरेका प्रतिवद्धता पुरा गर्नेछन् ।

LIVE TV