१३ पुष २०७४, बिहीबार

मनोज भूजेल

काठमाण्डौ । गत वर्षायामको बाढीले सुनसरीको इटहरीमा समेत जनधनमा क्षति पु¥यायो । बाढीका कारण धेरैले घरबार गुमाएका छन् । बाढी लगत्तै सरकारी तथा गैर सरकारी संघ संस्थाहरु राहत र पुर्नस्थापनामा जुटेका थिए । तर, अझै पनि धेरै बाढी पीडित टहरामै दिन काटिरहेका छन् । पुनस्थापनाका लागि सरकारले बिनियोजन गरेको रकम समयमै तल्लो तहसम्म नपुग्दा बाढी पीडित टहरामै बस्न बाध्य छन् ।

साउनमा आएको बाढीले इटहरी उपमहानगरपालिकामा रहेका २ सय ३४ घरमा क्षति पु¥याएको थियो । ती मध्ये ४६ घर परिवार विभिन्न संघसंस्थाको सहयोगमा पुनस्थापित भइसकेका छन् । बाँकी रहेका १ सय ८८ बाढी पीडित मध्ये अधिकांशले ऋण लिएर बसोबासका लागि आफ्नो बन्दोबस्ती गरिसकेका छन् । तर, आर्थिक अवस्था कमजोर भएका लगभग २० घर परिवार भने अझै पनि टहरामै दिन बिताउन बाध्य छन् । बाढीको बितण्डा सहेका पीडितहरुले यतिखेर चिसो मौसम सामना गर्नु परेको छ । चिसोका कराण टहरामा बसोबास गर्ने अधिकांशमा स्वास्थ्य समस्या देखा पर्न थालेको छ ।

सरकारी योजना अनुसार अहिले सम्ममा सबै बाढी पीडित पुनस्थापित भइसक्नु पर्ने हो । तर, बाढी पीडितलाई पुनस्थापना गर्ने सवालमा इटहरी उपमहानगरपालिकाले खासै चासो देखाएको पाइदैन । इटहरीका बाढी पीडितले अहिलेसम्म सरकारी राहतको नाममा प्रति परिवार १५ हजार रुपैयाँ पाएका छन् । पीडितका लागि १५ हजार राहत अर्थहिन जस्तै भएको छ । इटहरीका जनप्रतिनिधि भने मुख्य समस्या थाती राखेर आगामी योजनामा जुटेका छन् । बाढी पीडितलाई सुरक्षित स्थानमा पुनस्थापना गर्न स्थान खोजि भइरहेको वडा नम्बर ३ का अध्यक्ष बालकृष्ण बिष्ट बताउँछन् ।सरकारले पुनस्थापनाका लागि खासै चासो नदेखाएपछि अधिकांश पीडित आफैले सामान्य घर बनाएका छन् । कतिपयले गैर सरकाररी संघ संस्थाको सहयोग पाएका छन् । तर, उनीहरुलाई बाढीको त्रास उत्तिकै छ । वर्षायाममा फेरी बाढी खेप्नुपर्ने कुराले उनीहरु पिरोलिएका छन् ।

इटहरीका बाढी पीडित प्रतिनिधि मात्र हुन । तराईका अधिकांश जिल्लाका बाढी पीडितको हालत उस्तै छ । जेनतेन वर्षायाम काटेका बाढी पीडित दिउँदको चिसोयाम पनि टहरामै बिताउनु पर्ने बाध्यतामा छन् । बाढी पीडितलाई व्यवस्थापन गर्ने सवालमा यस्तै ढिलासुस्ती हुने हो भने अधिकांश बाढी पीडितले आउँदो वर्षायाममा पनि उस्तै सास्ती खेप्नु पर्ने देखिन्छ । त्यसैले, बाढी पीडित पुनस्थापना कार्यले तिब्रता पाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV