१३ पुष २०७४, बिहीबार

 

काठमाडौँ ।  यस वर्षको ‘टीकाराम पार्की मानव मर्यादा पुरस्कार’ बाट पूर्वसभासद् विनोद पहाडी सम्मानित हुनु भएको छ ।

प्रत्येक वर्ष राष्ट्रिय दलित नेटवर्क (आरडिएन) ले प्रदान गर्दै आएको सो पुरस्कारबाट यहाँ आज आयोजित ‘दलित संसद्’ सम्मेलनमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पहाडीलाई सम्मान गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यसमेत रहनुभएका पहाडीले दलित आन्दोलनमा पु¥याएको योगदानको कदर गर्दै सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि रु पाँच हजार १८२ रहेको छ ।

नेपाल पत्रकार महासंघ रूपदेन्हीका संस्थापक अध्यक्षसमेत रहनुभएका पहाडी ‘नेपालीमञ्च साप्ताहिक’का प्रधानसम्पादन र रेडियो जागरण, रूपन्देहीका अध्यक्षसमेत हुनुहुन्छ । विसं २०६० मा स्थापना भएको (आरडिएन) ले यसअघिका वर्षमा सोही पुरस्कार दलित आन्दोलनमा योगदान पु¥याएबापत बलदेव राम (सिरहा), रवीन्द्रसिंह गहतराज (कैलाली), पुरनसिंह दयाल (बैतडी), टेकबहादुर रैका (कैलाली), रिमा नेपाली (रोल्पा), उमासिंह वादी (कैलाली, सुभास दर्नाल (पाल्पा) र हीरासिंह सार्की (कञ्चनपुर) लाई प्रदान गरेको थियो ।

सो अवसरमा (एमाले) का वरिष्ठ नेता नेपालले सदियौँदेखि दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूतको समस्यालाई भएका ऐन÷कानूनको कार्यान्वयनसँगै जनचेतनामार्फत अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो । नेता नेपालले दलित समुदायको शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या समाधान गर्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेकपा (एमाले) का सचिव योगेश भट्टराई र नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप अधिकारका लागि दलित समुदायले संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पूर्वसांसद खड्क बस्याल, पूर्वसभासद् विनोद पहाडी, (आरडिएन)का अध्यक्ष गणेश विकेले नीति निर्माण तहमा दलित समुदायको जनसंख्याका आधारमा नीतिगतरूपमा प्रतिनिधित्व हुनुपर्ने माग गर्नुभयो ।

कार्यक्रममा दलित समुदायबाट स्थानीय तहमा निर्वाचित चित्रकला बराइली (इलाम), शिव विक (कैलाली), श्याम सुनार (बझाङ) र शर्मिला विक (काठमाडौँ) लगायतलाई सम्मान गरिएको थियो । दुई दिनसम्म चल्ने ‘दलित संसद्’ सम्मेलनले काठमाडौँ घोषणापत्र जारी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV