१२ पुष २०७४, बुधबार

काठमाडौं । पछिल्लो समय जुम्लामा शिक्षाका कारण विस्तारै मान्छेमा चेत खुल्दै आएको छ । छाउपडी प्रथा हटाउन धार्मीझाँक्रीले नै साथ दिन थालेका छन् ।

छुइ अर्थात् महिनावारी भएको अवस्थामा महिला घरभित्र बस्दा ‘देवीदेवता रिसाउने र विसञ्चो हुन्छ’ भन्ने रुढीवादी मान्यताको खिलापमा धार्मीझाँक्रीले उत्रिन थालेका छन् ।

पछिल्लो समयमा छाउपडी अर्थात् महिनावारी भएको अवस्थामा गोठमा बस्नु भनेको सामाजिक अपराध भएको भन्दै महिला तथा किशोरीलाई घरभित्रै बस्नका धार्मीझाँक्रीले नै सल्लाह दिन थालेका छन् ।

तिला गाउँपालिका–५ डुङरीका ८० बर्षीय मष्टो धामी सन्तके रावतले महिनावारी अर्थात् छुई भएको अवस्थामा सरसफाइ गरेर घरभित्रै बस्न सल्लाह दिए । उनले भने, ‘उहिलेको जस्तो अहिलेको समय होइन । गोठमा एक्लै बस्दा कुनै पनि अपराधिक घटना घट्न सक्छ । अब छुई भएको अवस्थामा पनि घरभित्र बस्नु मिल्छ भन्ने सबैमा चेताना पलाएको छ ।’

छुई भएको अवस्थामा सरसफाइ गरी आफ्नै सुत्नेकोठामा बस्दा स्वास्थ्यलाई हानी नहुने सोही गाउँका अर्का स्थानीय धामीझाँक्री कालिबहादुर रावतले बताए ।

झाँक्री रावतले भने,‘पहिला नबुझेर महिनावारी भएको महिलालाई गाईगोठमा राख्ने गरिन्थ्यो । अहिले अहिले चेतनाको विकास भएको छ ।’ उनले महिलावारी अर्थात् छुई भएको अवस्थामा गोठमा नपठाउने र सरफाइमा ध्यान दिन लगाएर घरभित्रै बसाल्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV