१२ पुष २०७४, बुधबार
  • दीपक भट्ट,

रामेछाप । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको दुई भइसक्यो । तर, अझै पनि भूकम्पले क्षतिग्रस्त घरहरु पुनर्निर्माण हुन सकेका छैनन् ।

अनुदान रकममा ढिलाई र दक्ष कामदार अभावका कारण रामेछापका अधिकांश भूकम्प पीडितले घरको जग समेत हाल्न सकेका छैनन् । विभिन्न समस्याले तोकिएको समयमा घर नबन्ने भएपछि भूकम्प पीडितले समय अवधि थप गर्न माग गरेका छन् ।

आवास निर्माणका लागि सरकारबाट अनुदान रकम पाएका रामेछापका भूकम्प पीडिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तोकेको समय अवधिमा घर बनाउन नसक्ने भएका छन् ।

अनुदान रकम ढिलो मात्र प्राप्त हुनु र दक्ष कामदार समेत नहुनुले रामेछापका भूकम्प पीडितले यो वर्षको चिसोयाम टहरामै बिताउने भएका छन् । पहिलो किस्ता पाएका कतिपय भूकम्प पीडितले त घरको जग समेत राख्न सकेका छैनन् । दक्ष कामदार र पानी अभावले आवास निर्माणमा समस्या उत्पन्न भएको उनीहरु बताउँछन् ।

भूकम्पका कारण रामेछापमा ५५ हजारभन्दा बढी घर क्षतिग्रस्त भएका थिए । ती मध्ये पहिलो चरणमा ४५ हजार ५० परिवार मात्र लाभग्राही सूचीनमा छन् । उनीहरु मध्ये ४२ हजार १५ जनाले मात्र पहिलो किस्ता वापतको रकम लिएका छन् । पहिलो किस्ता वापतको रकम लिएकाले पुष मसान्तसम्ममा घरको जग हालिसक्नु पर्ने प्राधिकरणले समय तोकेको थियो ।

तर, पानी र कामदारको अभावका कारण समयमा काम हुन नसकेको भन्दै पहिलो किस्ता पाएकाहरुले निर्माण सम्पन्न गर्ने अवधि बढाउन माग गरेका छन् ।

घर निर्माणका लागि आवश्यक पानी अभावका कारण रामेछापका अधिकांश क्षेत्रमा पुननिर्माणको काम ठप्प छ । रामेछापका ४२ हजार १५ घरले पहिलो लिएका छन् ।

ती मध्ये ३४ हजार ३ सय १५ घरधनीले पानी र कामदार अभावका कारण अझै जग समेत हाल्न पाएका छैनन् । त्यसैले, रामेछापमा भूकम्प पछिको पुनर्निर्माण निक्कै पछि धकेलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV