१२ पुष २०७४, बुधबार

सरिना मरासिनी

रुपन्देही । नेपालमा मलको अभाव भएपछि नेपाल सरकारले पश्चिम नेपालका लागि भारतबाट रासायनिक मल आयात गरेको छ । गहुँ र तोरीका लागि मल अभाव भएपछि सरकारले जि टु जि माध्यमबाट युरिया मल खरिद गरेको हो ।

सुनौली नाका हुँदै भैरहवामा रहेको क्षेत्रीय कृषि सामग्री कम्पनी लिमिटेडमा २५ सय मेट्रिक टन युरिया भित्रिएको कार्यालयले जनाएको छ । कार्यालयमा मल भित्रिएसँगै पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल क्षेत्रमा मल ढुवानी भएको कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालयका प्रमुख राजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

डोटी, सुर्खेत, नेपालगञ्ज, कपिलबस्तु, स्याङ्जा, बर्दिया, पाल्पा र रुपन्देही जिल्लाहरुका लागि तीन सय ४३ मेट्रिक टन युरिया ढुवानी भएको छ । यता साल्ट ट्रेडिङ्गमा पनि भारतबाट ग्लोबल टेण्डर मार्फत पिपिएलबाट खरिद गरेको २५ सय मेट्रिक टन युरिया आइपुगेको छ । अनुदानको सरकारी मल आयात समयममा नभएपछि सीमा नजिकका किसानहरुले चोरी नाकाहुँदै भारतीय बजारबाट गुणस्तर र पोषकतत्व कम भएको रासायनीक मल राख्ने गरेका छन् ।

गएको वर्ष गहुँ र तोरीको सिजनमा कृषि सामग्री कम्पनीबाट डिएपी १४ हजार पाँच सय ७५ मेट्रिक टन, युरिया १८ हजार मेट्रिक टन र पोटास नौ सय २५ मेट्रिक टन ब्रिकि भएको थियो ।

LIVE TV