१२ पुष २०७४, बुधबार

दीपक भट्ट

रामेछाप । रामेछापमा २८ महिना अघि गएको विनाशकारी भूकम्पले विद्यालयको भवन भत्काएपछि खुल्ला चउरमा नै बसेर अध्ययन गर्दै आएका वालवालिका विद्यालयको पक्की भवन बनेसंगै खुसी बनेका छन् । मन्थली नगरपालिका ८ चिसापानीको रहेको कालिकादेवी आधारभूत विद्यालय पडारेमा दुइ वटा छुट्टाछुट्टै भवन बनेसंगै विद्यार्थीहरु खुसी भएका हुन् ।

२०७२ सालमा गएको भूकम्पवाट क्षत विक्षत भएको श्री कालिकादेवी आधारभुत विद्यालय पडारेका लागि दुई कोठे पक्की भवन र चिउरीपानीको जगदम्वा आधारभूत विद्यालयका लागि गैरसरकारी संस्थाले ९ कोठे पक्की भवन निर्माण गरिदिएको हो । भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्दै विना विभागीय राज्यमन्त्री एवं रामेछाप जिल्लावाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद श्यामकुमार श्रेष्ठले रामेछापको शिक्षाको विकासमा आफु लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । शिक्षा विकासको पहिलो पूर्वाधार भएकाले रामेछापमा शिक्षाको विकासका लागि आफू निरन्तर लागिपर्ने उहाँको भनाई थियो ।

चिसापानीको दुई विद्यालयको भवन एकै चोटी निर्माण भएको छ । पहिलो चरणमा निमार्ण गरिएको कालीकादेवी आधारभुत विद्यालयको २ कोठे पक्की भवन करिव ३५ लाखको लागतमा निमार्ण गरिएको हो । त्यसैगरी चिसापानीको चिउरीपानीमा रहेको जगदम्वा आधारभुत विद्यालयको लागि निमार्ण गरिएको ९ कोठे पक्क भवन १ करोड ५५ लाख रुपैयाँको लागतमा निमार्ण गरेको जनाएको छ । विद्यालयलाई आवश्यक पर्ने डेस्क, वेञ्च, शौचालय, शोलार वत्ती समेत जडान गरिने डनवक्स सोसाइटीले जनाएको छ ।विद्यालयमा भवन बनेसंगै विद्यार्थी तथा अभिभावकले खुसी व्यक्त गरेका छन् ।

भूकम्पबाट क्षतिभएको रामेछापका विद्यालय भवनहरु धमाधम निर्माण भईरहेको छ । कुल ४ सय १९ भवनमा विद्यालयमा भूकम्पले क्षति पु¥याएको थियो भने अहिले विभिन्न संघ सस्था तथा जिल्ला शिक्षा कार्यालयको मातहत र विद्यालय व्यवस्थापन समितिको मातहतबाट १ सय ३७ विद्यालयको भवन निर्माणको चरणमा छन् । तर बाँकी २ सय ८२ वटा विद्यालयको भवन निर्माणको कुनै पहल नभएको जिल्ला शिक्षा कार्यालय रामेछापले जनाएको छ । अझै पनि २ सय ८२ विद्यालयका विद्यार्थी पालमै बस्नुपर्ने बाध्याता रहेको छ ।

LIVE TV