१२ पुष २०७४, बुधबार

काठमाण्डौ । केही दिनदेखि पार्टी एकताको बहसमा देखिएको अन्योलता हटाउन एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच छलफल हुने भएको छ । समय तय नभएपनि आज छलफल हुने बताइएको छ ।

गतिरोध अन्त्य र सरकार निर्माण प्रक्रियालाई तीव्रता दिनेगरी वार्ता अघि बढ्ने भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार हुने भनिएको छलफल पार्टी एकता र सरकार गठनमा बढी केन्द्रित हुने बताइएको छ । यद्धपि राष्ट्रियसभा निर्वाचन अध्यादेशबारे पनि छलफल हुने भनिएको छ । यसअघि पाँच दिनको चितवन बसाईपछि मंगलबार काठमाडौं फर्किएका माओवादी अध्यक्ष दाहालले एमाले अध्यक्ष ओलीसँग मंगलबार नै भेट्ने भनिए पनि छलफल हुन सकेको थिएन ।

चुनावलगत्तै पार्टी एकीकरण प्रक्रिया सुरु गर्ने भने पनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच दुईपटक मात्रै औपचारिक वार्ता भएका छन् । विभिन्न कार्यक्रममा ओली र प्रचण्डले पार्टी एकता छिट्टै हुने भनेपनि लामो समयसम्म दुवै दलबीच औपचारिक संवाद नहुँदा असहमति बढेको आशंका विभिन्न पक्षबाट भएको छ ।

LIVE TV