१२ पुष २०७४, बुधबार

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचन सम्बन्धि अध्यादेशमा राजनीतिक सहमतिको अपेक्षा राख्नुभएको छ । राजनीतिक सहमतिका लागि राष्ट्रपति भण्डारीले राजनीतिक दलहरुसँग परामर्श समेत गर्नुभएको छ ।

हालै सम्पन्न निर्वाचनबाट राष्ट्रिय पार्टी बन्न सफल देखिएका पाँच प्रमुख दलसँग राष्ट्रपतिले थालेको परामर्शको चरण राजपा नेताहरुसँगको भेटसँगै पूरा भएको छ । तर राष्ट्रपति विद्यादेवी भण्डारी तत्कालै अध्यादेश जारी गर्ने मनस्थितिमा नरहेको छनक भेटिएको छ । राष्ट्रपतिले राजनीतिक भेटघाटमा अहिले देखिएको गतिरोध अन्त्य गर्न दलहरुको योगदानको आशा गर्नुभएको छ । राजनीतिक दलहरु जति चाँडो अग्रसर हुन्छन त्यति छिटो समाधान हुन सक्ने राष्ट्रपति सचिवालयले जनाएको छ ।

एमाले अध्यादेशमा रहेको एकल संक्रमणीय चुनावी प्रावधानको विपक्षमा छ । कांग्रेस एकल संक्रमणीय चुनावको पक्षमा देखिएको छ । एमालेसँग वाम गठबन्धन बनाएको माओवादी केन्द्रले अध्यादेश सहमति हुनुपर्ने बताउने गरेको छ ।

LIVE TV