११ पुष २०७४, मंगलवार

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महामन्त्री एवम् प्रदेश सांसद मनिष सुमनले अहलेको अवस्थामा ओली भन्दा प्रचण्ड प्रधानमन्त्री हुदा राम्रो हुने बताएका छन् । मुलुकको हित र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि एमाले र माओवादी केन्द्रबीचको गठबन्धन तत्काल टुट्नुपर्ने बताए ।

वाम गठबन्धन बनाउने घोषणा गरेकै दिन मुलुकमा कम्युनिष्ट शासन ल्याउने लक्ष्य सार्वजनिक गरेकोले आफूहरुको चाहना भनेको अहिलेलाई कम्तिमा वाम गठबन्धन टुटोस् भन्ने रहेको नेता सुमनले बताए । यद्यपी उनले लोकतन्त्रमा जनमतको सम्मान गर्नुपर्ने भएकोले अहिलेको जनमतलाई आफूहरुले पूर्ण रुपमा सम्मान गर्ने समेत बताए ।

मुलुकमा कम्युनिष्ट शासन आयो भने न्यायलय, प्रेस स्वतन्त्रता, कलकारखाना सबैमा दवदवा रहने र एकदलीय शासन लागू हुनेप्रति आफ्नो डर, त्रास र शंका रहेको उनले बताए । ‘यस्तो डर गलत सावितहोस्, त्यसैले म भन्छु यो वाम गठबन्धन टुटोस् ।’

सुमनले राजपा र फोरम नेपालबीच अत्यन्तै प्रगाढ सम्बन्ध रहेको बताउँदै निकट भविष्यमा नै दुई पार्टीहरुबीच एकता हुने विश्वास दिलाए । उनले भने, ‘हाम्रो विचारहरु सबै मिल्छन्, हामीबीच अत्यन्तै राम्रो र सुमधुर सम्बन्ध छ, अहिले जनमतले पनि हामीलाई एकताको लागि दबाव दिएको छ, जनताको चाहना पनि यही हो, त्यसैले निकट भविष्यमा पार्टी एकता हुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’

उनले राष्ट्रियसभा गठनको विषयलाई लिएर अहिले भइरहेको विवादबारे टिप्पणी गर्दै भने, ‘यो संविधानमा धेरै त्रुटिहरु छन्, यसलाई अभ्यास गर्दै जाँदा अहिले थाहा भइरहेको छ, संविधान जारी गर्ने दलहरुले अहिले यही समस्या भोगिरहेका छन् ।’

उनले सरकारको नेतृत्ववाम गठबन्धनले गर्ने निश्चित भएकोले एमाले अध्यक्ष केपीशर्मा ओलीभन्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनोस् भन्ने आफूहरुको चाहना रहेको सुनाए ।

उनले भने, ‘ओलीजी हामी प्रति निकै कडा, कठोर र कटु वचन बोल्ने नेता हुन्, भोलिसम्म यो बानी परिवर्तन हुन पनि सक्छ, तर एमाले अछुत छ, उसका नेताहरुले हामीलाई कहिले भाषाको नाममा, कहिले पहिरनको नाममा, कहिले के को नाममा गालीगलौज र तथानाम भन्ने गरेका छन्, यो आलोकमा प्रचण्ड राम्रा छन्, उनले कम्तिमा संविधान संशोधनको लागि लचकता अपनाए, पहलकदमी लिएका थिए, भलै हुन सकेन, प्रचण्ड तुलनात्मक रुपमा ओलीभन्दा राम्रा छन् ।’

त्यस्तै उनले २ नम्बर प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी रहने समेत जनाए । सुमनले थपे, ‘म जिम्मेवारी दिइए प्रधानमन्त्री पनि चलाउन सक्छु नि, मुख्मन्त्री मात्रै किन तर यस सम्बन्धमा हामी अहिले छलफलमा छौं, आवश्यक परे म जिम्मेवारी वहन गर्न तयार छु ।’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV