११ पुष २०७४, मंगलवार
  • सुवास गौतम,

बागलुङ । अधिकांस युवा रोजगारीकालागि विदेशीने गरेका छन् । तर, धेरथोर पैसा कमाउन विदेश नै जानु पर्छ भन्ने छैन । मेहेनत गर्ने हो भने स्वदेशमै पनि राम्रै आर्थिक उपार्जन गर्न सकिन्छ । बाग्लुङका एक कृषकले स्वदेशमै गरेको मेहेनतले यही कुरा पुष्टी गरेका छन् ।

बाग्लुृङ काठेखोला गाउँपालिका वडा नम्बर एक पालाका ३८ बर्षीय हरिबहादुर रानाले २०६८ सालमा ६० हजार रुपैयाँ तिरेर उन्नत जातको एउटा गाई किने । र, १ लाख ५० हजार हरुपैयाँ खर्च गरेर गाईका लागि व्यवस्थित गोठ बनाए । त्यसपछि हरिबहादुरको गाई पालन व्यवसाय सुरु भयो । अहिले उनको फार्ममा ८ वटा उन्नत जातका गाई छन् ।

लगभग दुई लाख रुपैयाँमा सुरु भएको हरिबहादुरको गाई फर्ममा अहिले १० लाखभन्दा बढि लगानी भइसकेको छ । तर, आम्दानी पनि उत्तिकै मात्रामा बढ्दै गएको छ । सुख्खायाममा २० लिटर दुध बिक्रि गर्ने हरिबहादुर बर्षायाममा दैनिक ५० लिटर बिक्रि गर्छन् । हाल उनको कमाई मासिक ३५ हजारभन्दा बढी छ । हरिबहादुरको फर्ममा उत्पादन हुने दुधको माग उत्तिकै छ । उनलाई बजारको माग धान्न चाहिँ मुस्किल पर्दै गएको छ ।

गाई फर्म स्थापना गर्नु अगाडी हरिबहादुरले अनेक अनुभव संगालेका छन् । अन्य युवाजस्तै उनी पनि विदेशीएका थिए । २०५९ सालमा बैदेशिक रोजगारका लागि मलेशिया पुगेका हरिबहादुरले तीन वर्ष मलेशियामै बिताए । स्वदेश फर्केपछि उनले फेरी बिदेश जाने सपना देखेनन् । बरु, स्वदेशमै केही गर्ने योजना बनाए ।

किराना र फेन्सी पसलसँगै गाई फर्म स्थापना गरे । विदेशमा गरेको जति स्वदेशमै दुःख गरे आम्दानी पनि राम्रो हुने र परिवारसँगै बस्न पाउँदा मन पनि खुशी हुने उनको अनुभव छ ।

हरिबहादुर, आफु जस्ता कृषकहरुलाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराएर राज्यले युवाहरुलाई स्वदेशमै गरिखाने वातावरण बनाउनु पर्ने बताउँछन् । राज्यले त सहायता प्रदान गर्नु नै पर्छ ।

तर, युवा स्वय्ले, स्वदेशमै सम्भावना नदेखेसम्म केही हुँदैन । त्यसैले, बाग्लुङका हरिबहादुर राना जस्तै अन्य युवाले पनि स्वदेशमा आर्थिक उपार्जनको सम्भावना देख्नु पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV